फिल्म । यल्लि वूड फिल्म्स प्रालिको निर्माणमा तयार भएको फिल्म ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, फिल्म निर्देशक किशोर सुब्बा, व्यवसायी तथा समाजसेवी केशवराम राई, नृत्य निर्देशक गोविन्द राई, आदिवासी जनजाति महासंघ अमेरिकाका महासचिव सुमन थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बु र नेपाली कलाकार संघ अमेरिकाकी अध्यक्ष बसन्ती राईले संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेका हुन्।
फिल्मको कथा तथा निर्देशन दिनेश लिङ्देनको रहेको छ। निर्देशक लिङ्देनका अनुसार फिल्मले नेपालको वर्तमान राजनीति तथा विभिन्न सामाजिक घटनालाई कथाको विषय बनाएको छ।
फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बु, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुम, शर्मिला शर्मा, रोहन सेन्चुरी, पूर्ण सेलिङ, पूजा गिरी, यासेली योङहाङ, सागर केरुङ, दिलिप योङहाङ, राजु घिमिरे, तेज मेन्याङ्बोलगायतका कलाकारको अभिनय रहेको छ।
शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत, राजेशपायल राई, मेचु धिमाल र सुबास राईको स्वर, कुमार महर्जनको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन तथा हेमन योन्जनको छायांकन रहेको छ।
निर्देशक लिङ्देनका अनुसार फिल्मको छिट्टै बेलायतमा प्रिमियर शो आयोजना हुँदैछ। प्रिमियरको तयारीका लागि निर्माता शैलेन्द्र नाल्बो बेलायत पुगिसकेका छन्। नेपालमा भने फिल्म फागुनमा रिलिज हुने निर्माण पक्षले जनाएको छ। रिलिजको मिति भने चाँडै सार्वजनिक गरिने बताइएको छ।












