‘सिनेपा’ स्टुडियो शुभारम्भ

फिल्म । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर छायांकन स्टुडियो ‘सिनेपाः’ को निर्माण कार्य शुभारम्भ भएको घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक विशेष समारोहमा उक्त घोषणा गर्दै स्टुडियोको शिलापत्र समेत अनावरण गरियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणमा सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यस दिनलाई नेपाली फिल्म क्षेत्रको युग परिवर्तनको दिनको रुपमा लिन सकिने बताए ।

प्रधानमन्त्री ओलीले प्रस्तावित स्टुडियोमा छायांकनका साथै डबिङ र गायन स्टुडियोलाई समेत समावेश गर्न सुझाव दिए । बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको यो स्टुडियो प्राकृतिक हिसाबले रमणीय स्थानमा रहेको उनको भनाइ थियो । उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा दोलखामा फिल्म नगरी र गोरखाको पालुङटारमा हलिउड फिल्मसमेत छायांकन गर्न मिल्ने स्टुडियो निर्माणको प्रस्ताव राखेको तर कलाकारहरूबाट अपेक्षित समर्थन नपाएको स्मरण गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लामो समयको पर्खाइपछि नेपाली फिल्म क्षेत्रले सुविधासम्पन्न स्टुडियो पाउन लागेकोमा खुसी व्यक्त गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताए । उहाँले चलचित्र ऐन, मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल विधेयक संसदमा पुगेको जानकारी दिँदै पञ्चायतीकालीन कानुनलाई समयसापेक्ष सुधार गर्न सरकार लागिपरेको बताए।

पूर्व सञ्चारमन्त्री तथा सांसद गोकुल बाँस्कोटाले स्टुडियो निर्माणका लागि आफूले जग्गा उपलब्ध गराउन भूमिका खेलेको बताउँदै स्थानीय जनप्रतिनिधिहरूलाई बधाई दिए ।

निर्देशक नीर शाहले स्टुडियोलाई कृत्रिम बौद्धिकता (एआई) र नवीनतम प्रविधि जडान गरेर बहुउद्देश्यीय बनाउन सुझाव दिए । बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादेले ‘सिनेपाः’ स्टुडियो निर्माण हुनु काभ्रे जिल्लाका लागि गर्वको विषय भएको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी) ले सकारात्मक सोच राखेमा असम्भव कुरा पनि सम्भव हुने धारणा राखे। उनले आगामी सातादेखि रियल टाइम बक्सअफिस प्रणालीको सुरुवात गरिने जानकारी दिँदै स्टुडियो निर्माण, रियलटाइम बक्सअफिस र चलचित्र ऐन निर्माणका कामहरू सकारात्मक ढंगले अघि बढेको बताए ।

कमेन्ट गर्नुहोस्