
फिल्म । ‘जारी’ जस्तो ब्लकबष्टर फिल्ममार्फत निर्देशकीय डेब्यु गरेका लेखक उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘मनसरा’ प्रवासमा रहेका नेपालीसम्म डायस्पोरा वितरण कम्पनि सेभेन सिजले पुर्याउने भएको छ । निर्माण पक्षसँग कम्पनिका तर्फबाट रमेश चौलागाईंले सम्झौता गर्दै नेपालीहरूको बाक्लो बसोबास रहेको अष्ट्रेलिया, अमेरिकासँगै मध्यपूर्व अन्तर्गतका देशहरू प्रदर्शन गर्ने निश्चित गरेका छन् ।
‘जारीले नेपाली फिल्मको बजार बलियो बनाउन र विस्तार गर्न ठूलो भूमिका निर्वाह गरेको थियो । अहिले मनसराको प्रचारप्रसार सामग्री सार्वजनिक भएसँगै प्रवासी दर्शक प्रतीक्षामा छन् । उहाँहरूको मागलाई मध्यनजर गर्दै हामीले मनसरालाई नेपालसँगै प्रवासमा भव्य रिलिज गर्दैछौँ’, वितरक चौलागाईंले बताए ।
उनले नयाँ बजार खोज्न र भइरहेको बजारलाई बलियो बनाउन ‘मनसरा’ जस्ता फिल्मले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनका अनुसार कम्पनिले नेपालसँगै प्रवासमा चैत ३० मा ‘डिग्री माइला’, विसं २०८१ को वैशाख २१ मा ‘मनसरा’ र जेठ १८ मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गर्दैछ । उल्लेखित फिल्ममा कलात्मक र व्यावसायिक दुवै पक्ष रहेका छन् ।

‘मनसरा’ मा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरेका छन् । विवाहिता लिम्बू समुदायकी महिला र उनको छिमेमा बस्ने विवाहित ब्राह्मण समुदायका पुरुषको सम्बन्धलाई प्रस्तुत गरिएको फिल्मको सार्वजनिक श्रव्यदृश्यमार्फत चर्चा बढ्दो छ । सार्वजनिक टिजरमा अभिनेत्री मिरुनाले बोलेको संवाद अहिले सामाजिक सञ्जाल र चियागफमा प्रयोग हुन् थालेको छ ।
निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की र कार्यकारी निर्माता सिजन दाहाल हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन र मानाहाङ लावती, मनिक शंखर, सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।
