फिल्म । गत फागुन २ गते नेपालभर प्रदर्शन भएको अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’ अब बेलायतको लण्डनमा पनि प्रदर्शन हुने भएको छ । महारानी प्रोडक्सनका विक्रम जोशीले फिल्मको प्रदर्शनको जिम्मा लिएका छन् । जोशीका अनुसार यो फिल्म आगामी मे ९ तारिखदेखि लण्डनका २७ वटा हलमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।
फिल्मले लण्डनमा प्रदर्शनका लागि आवश्यक सेन्सर प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ । जोशीले बताए अनुसार, लण्डनको सेन्सर बोर्डले फिल्मलाई ‘पिजी’ (प्यारेन्टल गाइडन्स) सर्टिफिकेट प्रदान गरेको छ । यसअघि ‘रंगी’ अष्ट्रेलियाका विभिन्न शहरहरूमा सफलतापूर्वक प्रदर्शन भइसकेको छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मित यो फिल्म बाबु र छोरीको भावनात्मक सम्बन्धको कथामा आधारित छ । विभिन्न फिल्ममा सहायक निर्देशकको रूपमा काम गरिसकेका सुरेश न्यौपानेले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म अभिनेता सलोन बस्नेतको पहिलो निर्माण प्रयास हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमले निर्माण गरेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत छ । आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीले यसका गीतहरूमा स्वर दिएका छन् भने दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीकै शब्द रचना रहेको छ ।
फिल्मको सम्पादन बन्दे प्रसादले गरेका हुन् भने राजेन्द्र मोक्तानको कलर करेक्सन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन डिजाइन रहेको छ । नेपालमा दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको ‘रंगी’ अब लण्डनमा पनि दर्शकहरूको मन जित्न सफल हुने विश्वास निर्माण पक्षले लिएको छ ।











