फिल्म। गत चैत २४ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रसाद २’ अन्तिम समयमा प्रदर्शन रोकियो। फिल्मका निर्माता केशव पाण्डेले आफू ९० प्रतिशत हिस्सेदार रहेको र विना जानकारी १० प्रतिशत हिस्सेदार सुभाष थापाले फिल्म प्रदर्शन गर्न लागेको भन्दै उच्च अदालत पाटनमा निषेधाज्ञाको माँग गरेका थिए। न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले चैत २६ गतेलाई पेशी तोक्दै तत्काल फिल्म प्रदर्शन नगर्न र नगराउन अल्पकालीन आदेश दिएका थिए।
यद्यपी आज भएको सुनुवाईमा ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ। निषेधाज्ञाको विषयमा भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने फैसला दिएको हो। उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले प्रदर्शन हुने बाटो खुल्ला हुनुका साथै निषेधाज्ञामा फैसला भएको बताइन।
‘यो फैसला जस्तै हो। अब यहि विषयमा सुनुवाई हुदैन’, प्रवक्ता शाहीले भनिन्। अदालतले दिएको आदेशमा निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक्सन प्रालिले प्राप्त गरेको र निवेदकसँग कुनै सम्बन्ध नदेखिको हुँदा निर्माण भइसकेको फिल्म प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले दिईएको अल्पकालीन आदेश जारी नहुने उल्लेख गरिएको छ। कानुनी अड्चन फुकुवा भएसँगै फिल्म ‘प्रसाद २’ वैशाखमा प्रदर्शन हुनेछ।












