फिल्म । अभिनेता राजेश हमालले ‘मायावी’ सुरूदेखि अन्तिमसम्म पूर्ण रुपमा मनोरञ्जनले भरिएकोले बजार तताउने बताएका छन् । सोमबार बेलुकी किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा आयोजित प्रिमियरमा सहभागी भएपछि अभिनेता हमालले फिल्मको प्रसंसा गरेका हुन् । उनले फिल्मको मेकिङ, कथामा आउने ट्वीस्ट, गीतसङ्गीत, फिल्मको गतिको तारिफ गरेका छन् ।
‘यो अनपेक्षित प्रेम कथानक हो । म फिल्म अवधिभर आफ्नो सिटमा बसेर इन्जोय गरें । यो दर्शकले अनुमान लगाउन नसक्ने प्रेमकथामा बनेको छ । किनकि यहाँ प्रेमी वा प्रेमिका कोहि खराब नभई मनको कथा देखाईएको छ’, अभिनेता हमालले भने ।
उनले फिल्मको सम्पूर्ण पक्षको तारिफ गर्दै आफ्नो श्रीमती मधू भट्टराईलाई पनि फिल्म हेराउने बताए । निर्देशक दिवाकर भट्टराईले फिल्म ‘मायावी’ फरक कथा भएकाले आफूले निर्देशन गरेको बताए ।
‘यसको कथालाई शब्दमा प्रस्ट्याउन सकिदैन, हेरेपछि मैले यसलाई किन निर्माण र निर्देशन गरें भन्ने बुझ्नुहुनेछ । यो हेर्नेसँगै महसुस गर्ने फिल्म बनेको छ’, निर्देशक भट्टराईले भने ।
फिल्ममा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, नव अभिनेता समीम खानको अभिनय रहेको छ । केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ प्रमाणपत्र दिएकाले यो सबै उमेर समूहका दर्शकले हेर्न मिलेन फिल्म बनेको छ ।
आउँदो फागुन १४ गते महाशिवरात्रिमा प्रदर्शन हुने फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।










