फिल्म । आउँदो शुक्रबार अर्थात फागुन ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक भएको छ । चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा छायांकन गरिएको ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो । गीतमा प्रमोद खरेल र विद्या मञ्जु तिवारीको संयुक्त गायन रहेको छ भने हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत छ ।
दीपक आचार्यको निर्देशन, चन्दन दत्तको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन र एलिस राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरु विल्सन विक्रम राई, सन्दिप क्षेत्री, कुञ्जना घिमिरे, पुष्पा आचार्य, मधुसुदन पाठक, सञ्जु शाह र एलिस राईलगायत फिचर्ड छन् । भिडियोमा दुई फरक पार्टीका नेता तथा कार्यकर्ताबीचको घम्साघम्सी देखाइएको छ । यो गीतको भिडियो फिल्मको प्रचारका लागि मात्र तयार गरिएको निर्माण पक्षको भनाइ छ ।
निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्ममा श्रीमान्-श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने परिस्थितिलाई फिल्मी शैलीमा चित्रण गरिएको छ । फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ , दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाल, सुनिता घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।












