फिल्म । फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । नेपाली र हिन्दी दुई भाषामा एकसाथ प्रदर्शन हुन लागेको फिल्मलाई निर्माण गरेकी छिन् अभिनेत्री नीता ढुंगानाले । यो उनको पहिलो निर्मात्रीको अनुभव संगालेको फिल्म हो । नेपाली र दक्षिण भारतीय कलाकारले भरिएको फिल्म भएकाले यसलाई ठूलो लागतमा तयार गरिएको छ ।
अभिनय र निर्माणमा केन्द्रीत हुन् नीतालाई सहज भने भएन । ‘निर्मात्री मात्र बनेको भए पनि हुने रहेछ । दुई-तीनतिरको दबाब झेल्न निकै गाह्रो हुने रहेछ । तर, मैले अब ५० करोडकै फिल्म पनि निर्माण र व्यवस्थापन गर्न सक्ने अनुभव बटुलेकी छु । निर्माण मेरो लागि नयाँ अनुभव रह्यो’, नीताले भनिन् ।
उनले आफ्नो आग्रहमा विपना थापा, संचिता लुइँटेल, रेखा थापा जस्ता दिग्गज कलाकारले अभिनय गरिदिएकोमा धन्यवाद दिईन् । फिल्मबाट चन्द्र पन्तले निर्देशनमा डेब्यु गरेका छन् । एक्सन कोरियाग्राफरको रूपमा चर्चित पन्तले अहिलेसम्म नसुनिएको नदेखिएको कथामा फिल्म बनाएको बताए ।
नेपालीसँगै भारतीय प्रसिद्ध कलाकारको संयुक्त अभिनय रहेको फिल्म एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने आरोह-अवरोहको कथामा आधारित छ । यसमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रुपमा प्रस्तुत छन् । हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम देख्न सकिन्छ ।
फिल्ममा अभिनेत्री विपना थापा, रेखा थापा जस्ता पुराना कलाकारसँगै साउथका कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय गरेका छन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यसलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।