‘भिडियो पसल’ मा हेर्नुस नयाँ फिल्म

फिल्म । डायस्पोरामा रहेर नेपाली फिल्मको प्रतिक्षा गर्ने दर्शकलाई खुसीको खबर । अब नेपाल रिलिजसँगै दर्शकले एप मार्फत फिल्म हेर्न पाउने भएका छन् । हालै सार्वजनिक गरिएको भिडियो पसल नामक एप्सले नेपाल रिलिजकै मितिमा विदेशका दर्शकले पनि शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था दिलाउने भएको छ ।

नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनि ओएसआर डिजिटलले यस एप्स सञ्चालनमा ल्याएको हो । सुरुवातमा नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने यो एप्स मार्फत नेपालमा हरेक शुक्रबार रिलिज हुने ‘फ्रेस फिल्म’ डायस्पोराका दर्शकले पनि एकै समय हेर्न पाउनेछन् । नेपालमा फिल्म रिलिज हुँदा एकसाथ विदेशमा प्रिमियर हुँदा मात्र सिमित समयमा सिमित दर्शकले फिल्म हेर्ने अवस्था थियो भने चर्चाका र देशभित्र हिट भइसकेका फिल्मको विदेश रिलिज पर्खिनुपर्ने अवस्थालाई चिर्दै न्युनतम शुल्कमा सबैजसो फिल्म चाहेको समयमा हेर्न पाउने व्यवस्था एप्समार्फत गरिएको छ ।

एन्ड्रोइड र आएओएस (एप्पल) दुबै कम्पनिको मोबाइलको प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिने एप्समा १ देखी ३ डलरसम्म मात्रै शुल्क तिर्दा ग्रेड अनुसारका फिल्म हेर्न मिल्नेछ । सुरुवाती चरणमा पछिल्लो क्रममा रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘ब्रेकअप’ ‘प्रसाद’ अपलोड भइसक्दा अबको केहि हप्ताबाट नै नेपालमा प्रदर्शनको दिनमा नै सबै फिल्म एप्समा उपलब्ध हुने रुपेन्द्र खड्गीले बताए । ‘पाइरेसीको कुनै अबसर नहुनेगरी एक पटक पैसा तिरेपछि हप्ताभरी जुनकुनै समयमा पनि फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको छ ‘ उनले बताए ।

सम्बन्धित फिल्मको निर्माण कम्पनिसँगको आपसी सम्झौतामा अधिकार खरिद गरेर उपलब्ध भएसम्म हरेकजसो फिल्म नेपाल बाहिरका दर्शकले एकै मितिमा हेर्न पाउने व्यवस्था मिलाउँदै जाने समेत ओएसआरले बताएको छ । विदेशमा रहेर नेपाली फिल्म हेर्न चाहने दर्शकलाई यो एप्सले लाभान्वित बनाउनेमा ओएसआर विश्वस्त छ । पछिल्लो समय विदेशमा नेपाली फिल्म सिमित मात्र जाने गरेको छ । नेपालमा व्यवसायिक रुपमा पाएको सफलता र असफलताकै आधारमा विदेशमा फिल्म प्रदर्शन हुने गरेका छन् ।

Facebook Comments