फिल्म । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित भएर बनेको फिल्म ‘अञ्जिला’ नेपाल प्रदर्शन अगावै मङ्सिरमा हङकङमा वर्ल्ड प्रिमियर हुने भएको छ । आगामी मंसिर २३ (डिसेम्बर ८)मा हङकङमा फिल्मको प्रिमियर निश्चित भएको निर्देशक मिलन चाम्सले जानकारी दिए । प्रिमियरमा क्याप्टेन एञ्जिला पनि उपस्थित हुनेछिन् ।
आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा बाल्यकालदेखि खेल जीवनसम्मको यात्रालाई फिल्ममा देखाइएको छ । हालै सम्पन्न साफ महिला च्याम्पियनसिपमा उनले गरेको सानदार प्रदर्शनपछि दर्शकमा फिल्मको पखाई बढेको छ ।
राष्ट्रिय अवार्ड विजेता चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’को नेपाल प्रदर्शनभन्दा झन्डै तीन महिना अगाडि हङकङमा वर्ल्ड प्रिमियर गर्न लागिएको हो । फिल्मको हङकङ प्रिमियरको मिति घोषणा गर्दै शुक्रबार नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ । जसमा अभिनेता दयाहाङ राई लौरो लिएर रिसाह भावमा देखिएका छन् । एञ्जिला भने दुई चुल्ठी बाटेर ग्रामीण लुक्समा प्रस्तुत छिन् ।
सुनिल थापा, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । यसमा सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।