फिल्म। चलचित्र निर्देशक समाजले युएनडीपीसँगको सहकार्यमा ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस्’ शीर्षकको दुई दिने सेमिनार सम्पन्न गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको सेमिनारमा पहिलो दिन जलवायु परिवर्तन र यसका असरका सम्बन्धमा र दोस्रो दिन जलवायु परिवर्तनको मुद्दालाई कथामा जोड्ने विषयमा छलफल भएको थियो।
मंगलबार युएनडीपीकी नेपाली प्रतिनिधि आइसानी लोबे, युएनडीपीकै सञ्चार प्रमुख कमल सिग्देल र वरिष्ठ फिल्मकर्मी नीर शाहले सेमिनारमा विविध पक्षमा आफ्नो धारणा राख्नु भएको थियो। “नेपालले जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई उठाएको छ। अन्य क्षेत्र झैँ चलचित्रमा पनि यसले स्थान पाउँछ भन्ने मलाई लागेको छ। आम जनतासम्म पुग्ने यो सशक्त माध्यम हो”, युएनडीपीकी नेपाली प्रतिनिधि लोबेले भन्नुभयो।
सेमिनारमा युएनडीपीका प्रतिनिधि दीपक केसीले विश्वमा जलवायु परिवर्तनको अवस्था र नेपालमा यसले पारिरहेको असरका बारेमा प्रस्तुति दिनुभएको थियो । यस्तै दोस्रो दिन लेखक सामीप्यराज तिमल्सेनाले चलचित्रको कथामा जलवायु परिवर्तनलाई समावेश गर्न सकिने विषयमा प्रस्तुति दिनुभएको थियो। माघ २४ र २५ गरी दुई दिन चलेको सेमिनारमा लेखक तथा निर्देशकको सहभागिता रहेको थियो ।










