फिल्म । गत फागुन १४ देखि प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । आउँदो साता पनि केही हलमा यसलाई दर्शकले हेर्न पाउनेछन् । ‘दर्शकको साथकै कारण फिल्म पाँचौँ हप्तामा प्रवेश गरेको छ, उपलब्ध शो मा दर्शकको उपस्थिति राम्रै छ’, निर्माता नवीन श्रेष्ठले भने ।
‘लाज शरणम्’ले नेपालमा चार करोडको हाराहारीमा ग्रस कलेक्सन गरेको बुझिएको छ । यसमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ ।
‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् । जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा रहेका छन् ।










