फिल्म । शुक्रवार रिलिज भई सफलताका साथ देशभर चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’को पुनः सम्पादन गरी लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाई सहित हलमा रिलिज भएको यो चलचित्र सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ ।
चलचित्रका निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै चलचित्र लम्बाई घटाइएको बताए । ‘दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद चलचित्र केही लामो भएको महसुस भएको प्रतिक्रिया पनि आइरहेका छन् । यसलाई केही घटाउँदा र फास्ट कटिङ गर्दा झनै मज्जा आउँथ्यो भन्ने टिप्पणीलाई आत्मसात् गर्दै करिब २१ मिनेट घटाइएको छ’, निर्देशक सुवेदीले भने,‘हामीले प्रत्यक्ष रूपमा दर्शकलाई भेट्दा चलचित्रको लम्बाई घटाउनु पर्ने सुझाव आएकोमा दर्शकको चाहना अनुरूप नै लम्बाई घटाएका हौँ । अब दर्शकको भावना अनुरूप पुनः सम्पादन भएको चलचित्र हलमा आएको छ ।’
पहिलो पटक चलचित्र निर्देशन गरेका अर्जुनले दर्शकले सुस्त र लामो लाग्ने चलचित्र हेर्न नचाहने रहेछन् भन्ने थाहा भएको बताए ।
रिलिजको पहिलो र दोस्रो दिन चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।
‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।










