‘होस्टेल ३’ : नेपाल र कुवेतमा ट्रेन्डिङको पहिलो स्थानमा

फिल्म । यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकको उच्च प्रतिक्रिया पाइरहेको छ । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको ट्रेलर न्युज तयार पार्दासम्म नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । त्यस्तै, यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा ट्रेन्डिङमा रहन सफल भएको छ ।

नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको यस ट्रेलरले विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखिएको छ। कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (UAE) मा पाँचौँ स्थान ओगट्न सफल भएको छ । यस्तै जापान र अस्ट्रेलियामा सातौँ स्थान, माल्टामा पनि सातौँ स्थान, मलेसियामा एघारौँ स्थान, दक्षिण कोरियामा चौधौँ स्थान, र बेलायत (UK) मा अट्ठाइसौँ स्थान ओगटेको छ ।

यो तथ्याङ्क हेर्दा नेपाली फिल्मको ट्रेलरले नेपाल बाहिर पनि दर्शकलाई आकर्षित गर्न सफल भएको देखिन्छ । ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, र समा पराजुली देखिएका छन् । त्यस्तै, प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिन्छन् ।

यसको निर्देशन सशान कँडेलले गरेका छन्, जो दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । फिल्मको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । यसका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

कमेन्ट गर्नुहोस्