‘मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक फिर्ता लिइयोस’ : प्रेस युनियन

देश । लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले सङ्घीय संसदमा पेश भएका मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक बिना सर्त फिर्ता लिन सरकारसँग माग गरेको छ । युनियन काठमाडौं शाखाले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गर्दै संविधान प्रदत्त पुर्ण प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथी नियन्त्रण गर्ने गरि ल्याइएको विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको हो।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसलाई कमजोर बनाउने, नियन्त्रणमा राख्ने तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खोस्ने किसिमका कुनैपनी कानुनलाई मान्न नसकिने बताए। ‘विधेयक बिना शर्त फिर्ता नलिए प्रेस युनियनका जिल्ला, प्रदेश र केन्द्रीय समिति संघर्षमा उत्रन बाध्य हुनेछ’, उनले भने ।

प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमले काठमाडौको माइतीघर मण्डला आन्दोलनलाई निर्णायक गन्तव्यमा पुर्याउने थलो भएको भन्दै आन्दोलनको सुरुवात भएको बताए। उनले सरोकारवाला पक्षसँगको छलफलबिना ल्याइएको विधेयक मान्न नसकिने भन्दै विधेयक फिर्ता लिएर पुन: परामर्शमा अघि बढ्न सरकारलाई आग्रह गरे।

विरोध प्रदर्शनमा प्रेस युनियनका केन्द्रीय उपाध्यक्षद्वय जीवन भण्डारी र प्रेम चुनारा, महासचिव दिलिप पौडेल, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान अध्यक्ष लिलाराज खनाल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, विभिन्न जिल्लाका युनियनका अध्यक्ष लगायत सहभागी थिए ।

कमेन्ट गर्नुहोस्