फिल्म । चैत ८ गतेदेखि विश्वभर प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’को टिजर सार्वजनिक गरिएको छ । पटकथा लेखक तथा निर्देशक ऋषिराज आचार्यले कलाकारलाई समेटेर फिल्मको टिजर ल्याएका छन् । उनले फिल्मको कथासार झल्किने टिजर ल्याएको बताए ।
‘नेपालको वास्तविक सुन्दरता यो फिल्ममा देख्न सकिन्छ’ उनले भने, ‘सोही कारण यसलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गरिएको छ । फिल्म हेरेका दर्शकले नेपालीपनको आभास गर्नेछन् ।’
फिल्मलाई डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे-फोक्सुण्डो लगायतका थलोमा खिचिएको छ । निर्देशक आचार्यले दुर्गम थलोको पर्यटन प्रवर्द्धनमा पनि फिल्मले भूमिका खेल्ने बताए ।
आरबी मूभिजको ब्यानरमा निर्माण भएको मौलिक कथावस्तुको फिल्ममा ‘नेपाल आइडल’ फेम्ड रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी र आचार्यले अभिनय गरेका छन् ।
यसमा ओडले संगीत दिएका छन् । निर्मातामा आचार्यसहित प्रकाश ज्ञवाली छन् । सौरभ शर्माको पाश्र्वसंगीत छ । अनिल महर्जनको सम्पादन, विजय आचार्यको कला, मोहन झिल्लुको छायांकन छ ।