कर्तव्यनिष्ठ प्रहरीको कथामा ‘कप्स’

223 Shares

फिल्म । जेठ १७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कप्स’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार भेटघाट गरेको छ । भेटघाटको क्रममा फिल्मको बारेमा जानकारी गराउदै कलाकार टर्न डिरेक्टर सम्राट सापकोटाले पृथक विषयवस्तुमा फिल्म निर्माण भएको बताएका छन् । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले यो फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् । ‘ फिल्ममा मैले एक कर्तव्यनिष्ठ प्रहरीको कथालाई देखाउने कोसिस गरेको छु’ निर्देशक सापकोटा भन्छन् ‘सरकारको सुरक्षा अंगको विषयमा फिल्म बनाउन निकै चुनौतीपूर्ण रहेछ , तर हामीले प्रयास गरेका छौ ।’

उनले यसै फिल्म मार्फत दर्शकले टेस्ट चेन्ज गर्ने अवसर पनि पाउने बताए । ‘पछिल्लो समय हाँस्यरस र लभस्टोरी फिल्मले बढी सफलता पाइरहेका छन् , जहाँ हामीले केहि फरक स्वादको फिल्म लिएर आएका छौ’ उनले भने । फिल्ममा ‘कप्स’ को भूमिकामा अनुप विक्रम शाही छन् । ‘मैले मेरो क्यारेक्टरलाई न्यायपूर्वक निभाउने प्रयास गरेको छु’ उनले भने ‘देशभक्ति फिल्म भएका कारण एकपटक सबै नेपालीलाई हेर्न आग्रह गर्छु ।’

दुई नव-अभिनेत्री सन्दिपा लिम्बु र अनुपा भट्टराईले फिल्मलाई लिएर आफूहरु निकै उत्साहित रहेको बताए । फिल्ममा नकारात्मक भूमिकामा रहेका अमित गिरी ‘कप्स’ उत्कृृष्ट बनेको दावी गर्छन् । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने छ । रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ ।

आर्या मुभिज र सारा श्री मुभिज को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । विपिन मल्लले फिल्मको सम्पादन गरेका छन् । सञ्जय श्रेष्ठको ब्याग्राउण्ड स्कोर छ । फिल्मका निर्माता राम शाक्य हुन् ।

Facebook Comments