यसकारण रोकियो ‘राधा’को प्रदर्शन

फिल्म । फिल्म ‘द सेक्रेट्स अफ राधा’ को प्रदर्शन रोकिएको छ । निर्माण टिमले एक पत्रकार सम्मेलन गर्दै फिल्म हलबाट उतारिएको घोषणा गरेका छन् । हलले पर्याप्त शो नदिएको आरोप निर्माण पक्षको छ । निर्माता तथा निर्देशक सुवर्ण थापाले फिल्म अपेक्षित दर्शकसम्म नपुगेको र वितरकबाट सहयोग पनि नपाएको भन्दै प्रदर्शन रोकेका हुन् । ‘हामीले तीजको दिन शो पाएका छैनौ । हाम्रो फिल्म दर्शकसम्म पुगेन । त्यसैले शो उतारेका हौँ’ निर्देशक थापाले भने ।

यसै फिल्म मार्फत निर्माणमा हात हालेका अभिनेता सौगात मल्लले अब यसलाई हलमा नभई अन्य रुपमा दर्शकसम्म पुर्याउने बताए । ‘अब अन्य किसिमको शो हुनेछन् । विदेशमा देखाउने वा यहाँ पनि सेप्रेट शो गरिनेछ’ सौगातले भने । अहिलेलाई फिल्मको प्रदर्शन स्थगित गरिएको उनले बताए । ‘हामीले फिल्म चलिरहेको कुरा दर्शकसम्म पुर्याउनै सकेनौँ । यसमा केही कमजोरी निर्माताको तर्फबाट पनि भयो होला केही कमजोरी वितरकका पनि छन् । जिल्लातिर फिल्मको पोस्टर पनि पुगेको छैन । यो रिलिज मोडलले काम नगरेको निष्कर्षसहित हामीले अहिलेलाई फिल्म निकाल्ने निर्णय गरेका हौँ,’ निर्देशक थापाले भने ।

निर्देशक थापाले वितरकहरुले दर्शक नआएको कारण शो संख्या नबढेको बताएको जनाए । ‘हाम्रो फिल्म तीजको दिनमा राम्रो गर्छ भन्ने आश थियो । हामीले यो फिल्म विस्तारै लामो समयसम्म जान्छ भन्ने सोचेका थियौं । यद्दपि तीजकै समयमा फिल्मले शो पाएन । त्यसैले फिल्मको प्रदर्शन रोक्दै छौँ’ निर्देशक थापाले भने । उनले पाएको शो टाइम पनि दर्शक उपयुक्त नभएको बताए ।

फिल्ममा शिर्ष भूमिकामा देखिएकी अभिनेत्री सृष्टी श्रेष्ठले वितरक तथा प्रदर्शकले नेपाली फिल्मलाई विश्वास गर्नु पर्ने बताएइन । ‘हामीले हलसम्म दर्शक नआएपछि यसको नेकस्त सोलुसन खोजेको हो । हलको विकल्प खोजेका हौँ । हामी बढी भन्दा बढी दर्शकसम्म पुग्ने बाटो खोजिरहेका छौँ’ सृष्टीले भनिन् । फिल्ममा सौगात, मल्ल, सृष्टि श्रेष्ठ र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् भने निश्चल बस्नेत, दयाहाङ राई, दिव्य देव आदि कलाकार अतिथि भूमिकामा छन् । फिल्ममा बुद्धि तामाङ, पशुपति राई, लोकेन्द्र लेखक आदि कलाकारको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्