गीतलाई १० दिन

फिल्म । सफल फिल्म निर्माण गर्ने निर्माता सुनिलकुमार थापाको निर्माणमा तयार भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को गीतको छायांकन सकिएको छ । फिल्मको शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको हो । झन्डै १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन् । गीत छायांकनको लागि निर्माण टिम फागुन ३० गते डोल्पामा पुगेका थिए ।

शिर्ष गीतमा अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । उक्त गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । फिल्मको गीतमा कुनै सम्झौता नगरिएको निर्देशक झरना थापाले बताइन । ‘हामीले दर्शकको आँखालाई शितलता दिन मेहनत गरेका हौँ । यसले पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने विश्वास छ’ निर्देशक थापाले बताइन ।

फिल्मको कथा उनले स्वर्गीय छेतेन गुरुङसंग मिलेर तयार गरेकी हुन् । बाँकी १० दिनको छायांकन काठमाडौं र पोखरामा गर्ने तयारीमा टिम छ । फिल्मको लागि अनमोलले कपाल समेत काटिसकेका छन् । सञ्जय लामाले खिचेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरिरहेका छन् । आउँदो वर्षको भदौ १८ गते प्रदर्शन तोकिएको फिल्मको गीत समय प्रतिकुल रहे छिटै सार्वजनिक गर्ने तयारीमा टिम छ ।

कमेन्ट गर्नुहोस्