‘कबड्डी काजीको यात्रा हो’

फिल्म । नेपाली फिल्मनगरीमा थोरै यस्ता फिल्म छन् , जसले आफुलाई ब्राण्ड बनाएका छन् । प्राय सुरुवाती चरणमा कसैले नसोचेको सफलता पाउने फिल्मले नै ब्राण्ड बन्ने सफलता पाएका छन् । यस्तै फिल्ममा पर्छ ‘कबड्डी’ सिरिज पनि । सानो सुरुवात भएको फिल्म यतिबेला नेपालको एउटा ब्राण्ड बनिसकेको छ । फिल्मको घोषणासँगै यसलाई दर्शकले पर्खिरहेका छन् । यस शब्दलाई फिल्मको सार्वजनिक गीतसंगीत तथा टिजर र ट्रेलरले प्रस्ट्याइसकेको छ । ‘कबड्डी’ भन्ने वितिकै सबैले सम्झिने पात्र हो , ‘काजी’ ।

काजीले मैया अर्थात् आफ्नो सोल्टिनी प्राप्तिको लागि गर्ने संघर्षलाई निर्देशक रामबाबु गुरुङले मुस्ताङको स्वादमा पस्केका छन् । र , उनलाई लेखनमा साथ् दिएका छन् उपेन्द्र सुब्बाले । फिल्मको पात्र र उसले बोल्ने संवादको कारण पनि यो सिरिज दर्शकमाँझ लोकप्रिय छ । यसैको तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ आउँदो असोजको पहिलो साताबाट प्रदर्शनमा आउँदै छ । दर्शक माँझ तेस्रो सिरिज आउँदै गर्दा हामीले काजीको उदय र कबड्डी निर्माणको सुरुवाती चरणलाई केलाउने कोसिस गरेका छन् । यसका मुख्य पात्र काजी अर्थात् दयाहाङ राईले सुरुवाती दिनको सम्झना जय होस् सँग साटेका छन् ।

कबड्डीको सुरुवात

फिल्म ‘कबड्डी’ बन्ने बेलामा निर्देशक रामबाबु गुरुङ नयाँ थिए । उनले ‘अनागरिक’ निर्देशक त गरिसकेका थिए तर यसको जानकारी दर्शकलाई थिएन । फिल्मको आइडिया राम्रो भएकाले बनाउने मन त थियो तर समस्या ‘लगानी’ को अभाव । तात्कालिन समयमा रामबाबु , दया र निश्चल बस्नेत प्राय समय मण्डलामा बिताउने गर्थे । एक प्रकारको त्यो ‘जक्सन’ नै थियो । निश्चल र दयाहाङलाई लुटले चिनाएको थियो भने रामबाबु पनि दर्शकलाई नयाँ टेस्टको फिल्म दिन चाहन्थे । तर , एक समयमा पुगेर फिल्म झन्डै बन्द हुने अवस्था थियो ।

दया भन्छन् ‘त्यो बेलामा हामीलाई फाइनान्सको समस्या त थियो नै साथै लगानी कर्ताको लगानी फिर्ता गर्न सकिन्छ कि सकिदैन भन्ने डर पनि ।’ एक समयमा पुगेर त फिल्मको स्क्रिप्ट नै चितबुझ्दो भएँन । ‘हामीले एक जना साथीलाई लेख्न दिएका थियौ तर उँहाले जागर चलाउनु भएँन र झन्डै सात महिना स्टोरीलाई स्क्रिप्ट बनाउन सकिएन’ दयाले भने । त्यो समयमा फिल्म बन्दैन भन्ने पनि लागेको थियो । तर , पछी रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर स्क्रिप्ट रेडी गरे । अब लगानी कर्ताको विश्वासलाई कसरि बचाउने भन्ने चिन्ता बढ्यो । किनकी लगानी मुनाफामा परिणत गर्ने दायित्व टिमले निर्वाह गर्नु पर्ने थियो । ‘हामीलाई दबाब थिएन तर हाम्रो टिमको विश्वासमा लगानी डुब्यो भने?’ डर चाही थियो दयालाइ ।

त्यसै बेला निश्चलले सल्लाह दिए ‘मण्डला जसरि बनाउनु भयो कबड्डी पनि त्यसरी नै बनाउन’ । निश्चलको सल्लाहमा सबै सहमत । झन्डै दुइ वर्षको गृहकार्यलाई फिल्मको रुप दिने तय भयो । तर पनि विविध कारणले फिल्म प्राविधिक रुपमा अब्बल बनाउन सकेन टिमले । ‘हामीले कोसिस गर्यौ तर अन्तिममा जे सक्यौ त्यहि गर्यौ’ दयाले भने । केहि प्राविधिकको पारिश्रमिक समेत टिमले रिलिज पश्चात दिने शर्तमा काम गरेको थियो । रिलिजपछी भने फिल्मले लगानीकै दोब्बर मुनाफा कमायो ।

काजीको उदय

फिल्मको स्क्रिप्टसँगै पात्रा काजीको पनि त्यति नै छलफल भयो । दया काजीको पात्रमा थिए । हरेक भेटमा काजीको सोचाई र भोगाईको चर्चा हुन्थ्यो । चर्चा हुन्थ्यो ‘काजी यस्तो हुन्छ , त्यस्तो हुन्छ ।’ दयाले त्यो पल सम्झिदै भने ‘काजी प्रेमी हो तर एकोहोरो किनकी उ हक पनि खोज्दैछ अनि माया पनि ।’ काजीले आफ्नो सोल्टिनीमा हक लाग्ने त सोचेको छ नै साथै मायाको पनि अपेक्षा गरेको दया बताउछन् ।

काजी दयालु छ , मनकारी छ , सोझो छ , निश्चल माया गर्छ तर अनपढ छ अनि एकोहोरो छ जसले मैया अर्थात् सोल्टिनीको भावना भने बुझेन । ‘काजी अनपढ भएकैले उ एकोहोरो छ अनि उसले हकदावी गरिरहेको छ किनकी कल्चर नै त्यस्तै छ’ दयाले पात्रको ब्याख्या गरे । काजी कसरि जन्मियो त ? दया भन्छन् त्यो हाम्रो कथामै थियो ।

त्यसलाई डेभलप् गर्दै बढ्यौ तर रामबाबु रामबाबु लोकेसन हेर्न जादा त्यस्तै मान्छे भेटेका रहेछन् । ‘मैले त फोटो समेत हेरिन तर उ काजी जस्तै थियो रे वा काजी उ जस्तै’ दयाले भने । तर , क्यारेक्टरको स्वभाव भने सोच नै भएको उनले बताए । रामबाबुले भेटेको काजी र फिल्मको काजीमा धेरै समानता छ । कबड्डी एक प्रकारले काजीको यात्रा रहेको दया बताउछन् । किनकी उसको जीवन र भोगाईसँगै फिल्मको सिरिज अगाडी बढेको छ ।

कबड्डी प्रेम कथा हो

‘कबड्डी विशुद्ध प्रेम कथा हो’ दयाले बताए । तर त्यसलाई दर्शकले स्वीकारछन् कि नाइँ भन्ने चिन्ता टिमलाइ भयो । किनकी त्यो प्रकारको प्रेम रियल लाइफमा भएपनि रिल लाइफमा कमै भएको थियो । ‘हामीलाई त्यो प्रेम कथामा केहि थप्नु पर्छ भन्ने लगेर कबड्डी तयार गरेका हौ’ दयाले भने । तर फिल्म काजी र मैयाको माया मै केन्द्रित छ ।

काजीले माया गर्छ तर मैयाले ‘नजिकको तिर्थ , हेला’ गर्छिन् । तर पनि काजी हार मान्दैन । आखिर किन हरेक सिरिजमा काजीले चेत खाएपनि आफुलाई परिवर्तन गर्दैन त ? यस जिज्ञाषामा दया भन्छन् ‘मायामा परेपछि थोरै भाव देखियो भने पनि आश पलाउछ त्यसमाथि कहिँ त एकोहोरो प्रेमी ।’ उनले थपे ‘मैयाले आफ्नो माया बुझ्छे भन्ने आशमा छ काजी ।’ तर काजी र मैयाको विचमा विभिन्न अड्चन आउने गरेका छन् । जस्तै , बम काजी वा अन्य तेस्रो पात्र ।

मैया पनि काजी भन्दा तेस्रो व्यक्तिमा आकर्षित हुन्छिन् । ‘मैयाले काजीको माया बुझ्दिनन् किनकी काजीले त मायासँगै हकदावी पनि गर्ने गरेको छ अनि जालझेल नजान्ने भएकोले सिधा छ नि’ दया भन्छन् ,’तर जालझेल गर्नेको जालमा मैया छिटै फस्छिन् ।’ यद्दपी मैयाले काजीको मायाले कहिँ कतै महसुस भने गरेकी नै हुन्छिन् ।

सिरिजनै किन ?

दयाको भनाइलाई आधार मान्ने हो भने उनिसँगै उनको टिम सिक्वेल वा सिरिजको पक्षमा छैन । ‘कबड्डीमा अन्य कथा पनि भेटिन्छन वा हामीले अर्को कथा पनि भन्न सक्थ्यौ होला तर टिमको निर्णयले नै सिरिज मार्फत कथा भनेका हौ’ दयाले भने । उनले सिधा अर्थमा यसलाई आर्थिक मजबुतीको रुपमा पनि लिएसँगै दर्शकको चाह पनि ।

‘हामीले सुरुवाती दिनमा गरेको लगानी , मेहनतको फल नै होला कबड्डीको सिरिज’ दया भन्छन् ‘तर यसमा दर्शकको चाहना र पर्खाइ पनि कारक छ ।’ उनले आर्थिक मजबुतीलाई नकार्न सकेनन् दर्शकको पर्खाइमा पनि जोड दिए । दोस्रो सिरिजमा त टिमले आफुलाई प्राविधिक रुपमा अब्बल सावित पनि गर्नु पर्ने थियो । ‘हामीले कबड्डीको प्राविधिक पाटोलाई कबड्डी कबड्डीमा सबल बनायौ’ उनले भने । पहिलो भागमा मोलेको जोखिम र गरेको मेहनतको फल कबड्डी कबड्डीमा आएर टिमलाई प्राप्त भयो । फिल्मले टिममा जोडिएका सबैलाई आर्थिक रुपमा पनि सबल बनायो ।

के छ ‘कबड्डी कबड्डी कबड्डी’ मा ?

‘फिल्म फेरिपनि काजीकै सेरोफेरोमा छ । यसपटक पात्र थपिएका छन् , उनका बेग्लै कथा छन्’ दयाले बताए । फिल्ममा यसपटक कर्मा र उपासना सिंह ठकुरी थपिएका छन । उपासना पनि काजीको सोल्टिनी नै छिन् । काजीको मायाबाट प्रभावित उनि आफै मायामा पर्छिन् । तर , काजी मैया कै पर्खाइमा छन् । ‘काजीको प्रेम त चोखो होनी तर शैली मात्र मुढे हो’ दयाले भने ‘काजीले हकदावी गरेर पो मैयाले झर्को मानेकी हुन् नि ।’

उनि अझै मैयाकै पर्खाइमा छन् । त्यसमा नयाँ पात्रको प्रवेशले झनै रोमान्चकता थपेको छ । ‘काजी जस्तो छ त्यस्तै छ , बदलिएको छ त परिवेश’ दयाले भने । फिल्मले नेपालको हिमाली भेगको सुन्दरता पस्किनेमा दया विश्वस्त छन् ।

                                                                                                                               फिल्ममा स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई देखाइने छ । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा दयाहाङसँगै कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्