दयाहाङ भन्छन्,‘मेरो पात्रमा सकारात्मक र नकारात्मक दुवै कला छ’

फिल्म । पछिल्लो समय दर्शकको अत्याधिक रोजाईका अभिनेतामा पर्छन्, दयाहाङ राई । उनि यसमा ग्याङस्टारको भूमिकामा छन् । यसअगाडि उनले सन् २०१३ मा रिलिज भएको फिल्म ‘छड्के’ यस किसिमको भूमिका निर्वाह गरेका थिए । उनी ‘रङ्गेली’मा ‘विजय’ पात्रको भूमिकामा छन् । ‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरू चाहिँ प्राय ‘ग्रे’ चरित्र छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । यस्तै स्वभाव बोकेको पात्र हो, विजय । तर आम मानिसको आम सोचाइबाट हेर्दा यसमा डार्क चरित्र नै देखिन्छ ।अरू फिल्ममा मेरो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरूको जीवनलाई उठान गरेको छ । रङ्गेलीमा सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ’, दयाहाङले भने ।

उनका अनुसार ‘रङ्गेली’मा दर्शकले उनको चरित्रको यात्रालाई बाल्यकालदेखि आजको दिनसम्म अर्थात् फिल्मको कथा सकिन्जेलसम्म हेर्न पाउँछन् । उनले आफ्नो पात्रलाई सामान्य भएर बाँच्न सहज नभएको बताए । उनले विजयले आफ्ना सुखदुःखलाई विसाउने इच्छा पनि राख्छन्, तर सामान्य हुन् नसक्नु नै उनको कारक हो । ‘मेरो लागि यो चाखलाग्दो यात्रा थियो । किनभने विजयका लागि एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ’,दयाहाङ भन्छन् ।

यद्यपि विजयले पाउने साथीहरूको साथ, आफूभन्दा अग्रजहरूले दिएको माया, प्रेमिकाले दिएको साथ चाख लाग्दो कुरा छ । ‘विजय आफ्नो जीवनमा इमानदार साथ भएर हिँड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात् उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकि त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिँ उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञान भित्रको चापको यात्रा यसमा हेर्न पाइन्छ’, उनी भन्छन् ।

दयाहाङको बुझाइमा कोही मान्छे पनि समाजमा खल पात्र हुँदैनन् । उनीहरू समाजभित्र फरक भएकैले पनि ती पात्रलाई समाजले ‘इग्नोर’ गर्ने गरेको उनको बुझाई छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यसकका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।

कमेन्ट गर्नुहोस्