फिल्म । केही समयको अन्तरालपछि निर्माता छविराज ओझा फिल्म निर्माणमा फर्किने भएका छन् । उनले हालै विसं २०७४ सालमा निर्माण भएको फिल्म ‘मङ्गलम’को दोस्रो भाग ‘मङ्गलम २’ निर्माण घोषणा गरेका छन् । उनले फिल्मको निर्देशन नवल नेपाललाई जिम्मा दिएता पनि अन्य कलाकार र प्राविधिक को रहने भन्ने विषय खुलाएका छैनन् ।
यद्यपि उनले हालै केही दिन अगाडि मात्र अभिनेता राजेश हमालसँग भेट गरेका छन् । उनको भेट सामान्य नभई फिल्ममा काम गर्ने प्रस्तावसहितको रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार निर्माता ओझा आफ्नो कमब्याक फिल्ममा अभिनेता हमाललाई काम गराउन चाहन्छन् । यद्यपि यो विषयको टुङ्गो स्क्रीप्टमा हुने छलफल पश्चात लाग्ने बुझिएको छ ।
‘युगदेखि युगसम्म’ मार्फत निर्माता ओझाले नै अभिनेता हमाललाई ‘डेब्यु’ गर्ने मौका दिएका थिए । यसपटक निर्माता ओझाको पुनरागमनमा अभिनेता हमालले कत्तिको साथ दिन्छन् यो भने हेर्न बाँकी छ । फिल्म निर्माणमा भने निर्माता ओझालाई दीजेन्द्र शाक्यले सघाउनेछन् ।