प्रिमियरमा रुचाईयो ‘बोक्सीको घर’

फिल्म । नेपाली फिल्म ‘बोक्सीको घर’ लाई प्रिमियरमा रुचाइएको छ । बुधवार बेलुकी सुन्धारास्थित क्युएफएक्समा फिल्म हेर्न पुगेका कलाकर्मीले उठान गरिएको विषय, प्रस्तुतीकरण, कलाकारको अभिनयको प्रसंशा गरे । फिल्म हेरेर निस्किदै गर्दा अभिनेता भुवन केसीले निर्मात्री तथा अभिनेत्री केकी अधिकारीसहितको टिमलाई बधाई दिए ।

‘यो विषयलाई पर्दामाल्याउने आट आफैँमा तारिफयोग्य छ । त्यसमा देखिएका पात्रलाई कलाकारले बाचेका छन् । बधाई छ सम्पूर्ण टिमलाई’, भुवनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले यस्ता फिल्मलाई चलचित्र विकास बोर्डले विशेष सम्मान प्रदान गर्नुपर्ने विचार राखे ।

‘यो फिल्मलाई सञ्चार र शिक्षा मन्त्रालयले सचेतना बढाउने गरी प्रयोग गर्न सक्छ । यसलाई प्रवर्द्धन गर्नु उनीहरूको दायित्व हो । फिल्मले दिने संदेश अन्य माध्यमको तुलनामा बलियो हुन्छ’, निर्देशक देउजाले भने ।

अभिनेत्री बेनिशा हमालले व्यक्त गरिएको कथा निकै पावरफुल रहेको बताइन । उनले फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आफूले विषयलाई महसुश गरेको बताइन । अर्की अभिनेत्री निशा अधिकारीले आफू फिल्म हेरेर भावुक बनेको बताइन ।

‘म कलाकार भएकाले पर्दामा देखिने दृश्यलाई डिकोड गरेर बुझ्ने गरेकी छु । तर, यो विषय र फिल्मले मेरो आँशु रोक्न सकेन । संवत धेरैपछि फिल्म हेर्दा मेरो आँखा रसाए । यो हेर्नै पर्ने फिल्म बनेको छ’, निशाले भनिन् ।

अभिनेत्री स्वस्तिमा खड्काले केकीसँगै सुपला सापकोटाको अभिनयले आफू प्रभावित भएको प्रतिक्रिया दिईन् । गायक प्रकाश सपूतले महिलालाई समाज ले लगाउने गरेको आरोपलाई फिल्ममार्फत थप्पड हानिएको बताए ।

अभिनेत्री केकीले पर्दामा उठान गरिएको विषयलाई दर्शक बनेर आएका फिल्मकर्मीले महसुश गर्न सक्नु पहिलो सफलता रहेको बताइन । ‘हामीले पहिलो दर्शकका रुपमा पाएको प्रतिक्रियाले उत्साहित छौँ । यो विषयको गम्भीरतालाई महसुश गरेर नै पर्दामा ल्याउने आट गरेका हौँ । यसले सोचलाई थोरै भएपनि परिवर्तन गर्न सक्यो भने हामी सफल हुनेछौँ’, केकीले भनिन् ।

मण्डला नाटकघरमा मन्चन गरिएको सोही शिर्षकको नाटकबाट प्रभावित भएकी केकीले चार वर्ष लगाएर यसलाई फिल्मको स्वरूप दिएकी हुन् । ‘मैले नाटक हेरेपछि यसको प्रस्तुतीकरण र विषयलाई महसुश गरे । यो कथा धेरैसम्म पुग्नु पर्छ भन्ने लग्यो । त्यसमाथि महिला भएपछि मैले बनाउने फिल्म यस्तै हुनुपर्छ भन्ने लगेर अहिले फिल्म बनाएकी हुँ’, अभिनेत्री अधिकारीले भनिन् ।

सुलक्षण भारती निर्देशित फिल्ममा केकीसँगै रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्