फिल्म । गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतले फिल्म ‘वसन्त’ नेपाली समाजमा आफ्नो भोगाई मिश्रण गरेर तयार गरिएको कथा प्रस्तुत गरेको बताएका छन् । विसं २०६० देखि २०६४ सम्मको एउटा समाजको कथा उठाएको फिल्ममा उनले व्यवस्था परिवर्तन गर्ने भनिएका र समाजमा चेतना नभएका प्राणीलाई प्रश्न गरेको बताएका छन् ।
‘नेपालमा राजनीतिक हिसाबले विभिन्न परिवर्तनका आवाजहरू उठिरहेको थियो । ‘वसन्त’ले समाजका विभिन्न जातजाति, भाषा र जीवनशैलीलाई समेत देखाउनेछ । यो एउटा ग्रामिण जीवनशैली बुझ्ने र त्यहाँका समस्यालाई महसुस गर्ने फिल्म पनि बनेको छ’, उनले भने ।
उनले फिल्मले जातीयताको कथा मात्र नभनेको, बरु समाजको हरेक पात्रलाई जोड्ने काम गरेको सुनाए । उनले फिल्म ८० प्रतिशत रियालटी बेसमा भएको पनि जानकारी दिए । ‘कथाको त्यो पात्र म पनि हुन सक्छु र अन्य कोही । त्यो थाहा पाउन फिल्म हेर्नुपर्छ’, उनले थपे ।
फिल्मकी अभिनेत्री स्वस्तिमा खड्काले कलाकारका लागि हरेक फिल्म विशेष हुने बताइन् । उनले फिल्ममार्फत आफूले बाचेको र बेग्लै अनुभव गरेको समय फरक तवरबाट अनुभव गर्न पाएको सुनाइन् । ‘फिल्मले जुन समयको समाजको परिवेशलाई चित्रण गर्न खोजेको छ,’ खड्काले भनिन्,’ त्यो समयमा म सानी थिएँ । त्यो वेलाका घटना र समयलाई त्यति बुझ्न सक्ने भएको थिइनँ ।’
‘वसन्त’ यही चैत २२ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्म सपुतले निर्देशक गरेका हुन् । निर्देशनमा उनको यो डेब्यु फिल्म हो । फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथामा फिल्म तयार भएको छ । यसको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।