फिल्म । अभिनेत्री आँचल शर्माले छायांकनरत फिल्म ‘वर एण्ड वधु’ मा एक्सन गरेकी छिन् । विहिबार एक प्यालेसमा उनी फाइटको दृश्य दिईरहेकी थिइन् । आँचलसँगै डेब्यु एक्टर विवेक कर्माचार्यलाई एक्सनको दृश्यमा निर्देशक हिमाल केसीले निर्देशन गरिरहेका थिएँ । उनले दुवै कलाकारको मेहनतको प्रसंशा गरे ।
‘आँचलको काम गर्ने शैली गज्जब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन् । विवेकले गरेको एक्सन देखेर दर्शकहरु दंग पर्नुहुनेछ । उनी कही कतैबाट पनि नयाँ देखिदैनन्’, हिमालले भने ।
आँचलले आफूले एक्सनका दृश्यमा नयाँ अनुभव बटुलेको बताइन । ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । म भित्र एक्सनका लागि इनर्जी उस्तै छ । रमाइलो भइरहेको छ’, आँचलले भनिन् ।
डेब्यु एक्टर विवेकले आफुलाई तयार गर्न चारसाता यता नून छाडेर दिनमा एक लिटर मात्र पानी पिईरहेकाछन् । आफूलाई तन्दरुस्त देखाउन उनले यो मेहनत गरिरहेका छन् ।
निर्देशक मिलन चाम्सले आफ्नो दुवै कलाकारले कहिँ कतै सम्झौता नगरेको बताए । उनले भने,‘आँचल र विवेकले दर्शकलाई धेरै सरप्राइज दिदैछन् । निर्माता र निर्देशकले गरिरहेको मेहनत झैँ कलाकारले गर्दा छायांकन निकै राम्रो भइरहेको छ ।’
रोमानियामा पहिलो चरणको छायांकन सकिएपछि यतिबेला फिल्मको दोस्रो चरणको छायांकन काठमाडौँ र आसपासमा भइरहेको छ । निर्देशक चाम्सले दुई गीतको छायांकनसँगै फिल्मको प्याकअप हुने बताए । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिने रोमान्टिक कमेडी जनरामा तयार भइरहेको फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का, कुशुम शर्मा लगायतको अभिनय रहेको छ ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुदीप बरालको छायांकन रहेको छ भने यसको मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । फिल्मलाई रीच इन्टरटेनमेन्टले नेपालभर प्रदर्शनका लागि वितरण गर्नेछ ।