२५ रुपैयाँमै ‘मंगोलियन हर्ट’ को कन्सर्ट

दशक अघिको चर्चित ब्याण्ड ‘मंगोलियन हर्ट’ ले काठमाण्डौमा कन्सर्ट गर्ने भएको छ । ब्याण्ड २५ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कन्सर्ट गर्न लागिएको ब्याण्डका भोकलिस्ट राजु लामाले जानकारी दिएका छन् । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘रजत जयन्ती’को अवसर पारेर ब्याण्डले आगामी शनिबार राजधानीको टुसालस्थित ह्यात रिजेन्सी ग्राउण्डमा खुला कन्सर्ट गर्ने भएको छ ।

‘उभोउभो खासा म जाँदा’, ‘नतानुँ त तानुँतानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’जस्ता गीत मार्फत श्रोता तथा दर्शकको मन मटुमा बस्न सफल नेपाली सांगीतिक ब्याण्ड ‘मंगोलियन हर्ट’ ले सोहि अवसरमा आफ्नो नयाँ एल्बम पनि सार्वजनिक गर्ने भएको छ । ‘हामी नयाँ एल्बम पनि सार्वजनिक गर्दैछौ’ राजु भन्छन ‘ केहि समय हामी व्यस्त भयौ तर अब ब्याण्डलाई निरन्तरता दिन्छौ ।’

कन्सर्टमा देशका अधिकांश चर्चित तथा ख्यातीप्राप्त गायक÷गायिकाहरुको सहभागिता रहने समेत राजुले बताए । ‘मैले संगीत बाहेक त्यस्तो केहि सोचेको छैन , यसमै बाच्न पाउ अनि यसमै मर्न’ केहि भावुक हुदै राजुले भने ‘हामीले निकै संघर्ष गरेर ब्याण्ड तयार गरेका थियौ , अनि दर्शक तथा श्रोताको साथले यहाँसम्मको यात्रा तय गरेका छौ ।’साथै यसै वर्षभित्र ‘मंगोलियन हर्ट’ले देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी कन्सर्ट गर्ने योजना बनाएको राजुले बताए ।

उनका अनुसार ती सबै कन्सर्ट च्यारिटी हुनेछ । ह्यात रिजेन्सी ग्राउण्डमा हुन लागेको कन्सर्ट पनि च्यारिटी नै हो । च्यारिटी टिकट एउटा संयोगजस्तै भएको छ जबकि, ब्याण्डले २५ वर्ष पूरा गरेको अवसरमा आयोजित रजत जयन्ती तथा च्यारिटी कन्सर्ट हेर्न २५ रुपैयाँमात्र टिकट कायम गरिएको छ ।

कमेन्ट गर्नुहोस्