सिड्नी । अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल महोत्सव २०२४’ सम्पन्न भएको छ । नेपाली कला संस्कृति र परम्पराको प्रवर्द्धन तथा नेपाली पर्यटनको विस्तार गर्ने उद्देश्यले टाउन हलबाट हजारौंको सहभागितासहित सांस्कृतिक र्याली निकालिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको यस महोत्सवमा करिब ४० हजारले सहभागिता जनाएको बताइएको छ । महोत्सवमा दर्जनौँ नेपाली परिकारका स्टलहरू राखिएको थियो । महोत्सवमा पहिलोपटक न्यु साउथ वेल्स राज्यका प्रिमियर किस मिन्स लगायतका आधा दर्जन उच्च नेताहरू समेत सहभागी भए ।
उनीहरुले नेपालीले अष्ट्रेलियाको विकास र बहुसांस्कृतिक विकासमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे । महोत्सवमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो । जसमा नेपाली धरहरा, पशुपतिनाथको मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो ।