फिल्म । आउँदो शुक्रबार अर्थात् मङ्सिर ७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’ कथालाई हरेक परिवारले रिलेट गर्ने निर्माण पक्षले दावी गरेका छन् । विदेशिएका नेपालीले विदेशमा भोग्ने समस्या, विदेशिएका नेपालीको परिवारले नेपालमा परिवारसँगको वियोग र त्यसको छटपटिमा समय विताउनु परेको कथा समेटिएको ‘तेल भिसा’ मा अमेरिका, क्यानडा, अष्ट्रेलियाजस्ता देशमा रहेका नेपालीको कथा र व्यथा हेर्न पाइने निर्देशक तथा लेखक शंकर घिमिरेले बताए ।
उनले भने,’अमेरिका, क्यानडा, अष्ट्रेलियाजस्ता देशमा रहेका नेपालीका कथा उठान गरेको छ । पढ्न वा काम गर्न गएका नेपालीले अमेरिका लगायत देशमा कस्ता दुःख बेहोरिरहेका छन्, यसलाई उठान गरेका छौं । विदेशी मुलुकको भाषा नबुझ्दा, सहयोग गर्ने आफ्ना आफन्त नहुँदा, पराइ मुलुकको कानुन नबुझ्दा नेपालीले झेल्नु परिरहेको कथा ‘तेल भिसा’मा छ । त्यसकारण यसले हरेक परिवारलाई आफ्नोपन महसुश गराउँछ ।’
बाहिरबाट हेर्दा विदेशको काम, बसाई र जीवनमा चमकधमक देखिएता पनि परिवार र समाजले नदेखेको भित्री पाटोलाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक घिमिरे बताउँछन् । यस्तै, फिल्म ‘तेल भिसा’ को अग्रिम टिकेट बुकिङ तथा बिक्री खुल्ला गरिएको छ । अभिनेता विपिन कार्की दोहोरो भूमिकामा रहेको फिल्मलाई नेपालभरका मल्टीप्लेक्सले आकर्षक शो दिईरहेका छन् । फिल्मले चाबहिलको चुच्चेपाटीमा रगेको एफक्युबमा ६ शो पाएको छ भने पहिलो ७ बजेको शो लगभग भरिने क्रममा रहेको छ ।
यसले फिल्म प्रति दर्शकको आकर्षण रहेको प्रस्ट्याउछ । ‘तेल भिसा’ मा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाईएको छ । यसमा अभिनेता विपिन कार्कीले दोहोरो भूमिका निर्वाह गरेका छन् । बुवा र छोराको जीवनलाई पर्दामा जीवन्त बनाएका अभिनेता कार्कीले नयाँ अनुभव सङगालेको बताए ।
यसमा अभिनेता कार्कीसँगै पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने छ ।










