‘ऊनको स्वीटर’ले भारतमा मनायो ५१ दिन

फिल्म । नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो फिल्म हाल विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको निर्माण पक्षले जनाएको छ ।

५१ दिनसम्म लगातार प्रदर्शन भइरहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल रहेका छन्। यी हलहरूमा फिल्मले निरन्तर दर्शकको साथ पाइरहेको निर्माण पक्षको दाबी छ ।

नेपालमा उल्लेखनीय बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ४० भन्दा बढी हलमा प्रदर्शन भई करिब १२ करोड रुपैयाँ आम्दानी गरेको ‘ऊनको स्वीटर’ ले भारतमा पनि सशक्त उपस्थिति जनाएको हो । आर्टमान्डू नेपाल प्रा.लि.को निर्माणमा बनेको यस फिल्मको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा आयोजित प्रिमियर शोबाट सुरु भएको थियो, जहाँ प्रारम्भिक शोहरू हाउसफुल चलेका थिए ।

गान्तोकबाट सुरु भएको प्रदर्शन क्रमशः नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतका विभिन्न सहरमा विस्तार भयो । त्यसपछि फिल्म आसामका गुवाहाटी, तेजपुर, विश्वनाथ चाराली, मार्गेरिटा तथा अरुणाञ्चल प्रदेशको ईटानगरसम्म प्रदर्शनमा पुग्यो । कोलकाताका हलहरूमा फिल्मले आफ्नै दर्शक वर्ग बनाएको छ भने दिल्लीमा नयाँ दर्शकको साथ पाएको निर्माण पक्षले जनाएको छ ।

पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि ‘ऊनको स्वीटर’ महाराष्ट्रको मुम्बईदेखि दक्षिण भारतसम्म पुग्न सफल भयो । केरला, बैंगलोर र हैदराबाद जस्ता सहरहरूमा भाषा फरक भए पनि भावनात्मक अनुभूति एउटै रहेको प्रतिक्रिया दर्शकबाट आएको निर्देशक नवीन चौहानले जानकारी दिनुभयो ।

पश्चिम र उत्तर भारततर्फ मुम्बई, पुणे, चण्डिगढ, लुधियाना, शिम्ला, देहरादून र लखनउसम्म पुगेको यस यात्राले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको निर्देशक चौहानको भनाइ छ । फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेललगायत कलाकारको अभिनय रहेको छ। भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूहले रिलिज गरेका हुन् । भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए ।

कमेन्ट गर्नुहोस्