फिल्म । भारतका पहिलो सुपरहिरो ‘क्रिस’का रूपमा परिचित अभिनेता ऋतिक रोशनले आज आफ्नो जन्मदिन मनाउँदै छन् । सन् १९७४ जनवरी १० मा जन्मिएका ऋतिक निर्देशक राकेश रोशन र पिंकी रोशनका सुपुत्र हुन् । उमेर ५२ वर्ष पार गरिसक्दा पनि फिटनेस, स्टाइल र नृत्यका कारण उनी निरन्तर चर्चामा रहँदै आएका छन् । यही कारण उनका फ्यानको संख्या दिनप्रतिदिन बढ्दो छ ।
चरित्रका लागि गहिरो तयारी र मेहनत गर्ने उनको बानी नै सफलताको प्रमुख सूत्र मानिन्छ । पछिल्लो समय उनी फिल्म ‘वार २’ मा देखिएका थिए । निर्देशकको परिवारमा जन्मिए पनि ऋतिकले बलिउडमा आफूलाई स्थापित गर्न संघर्षपूर्ण यात्रा तय गरे । उनले बालकलाकारका रूपमा अभिनय यात्रा सुरु गरेका थिए। सन् १९८० देखि १९८६ सम्म बालकलाकारका रूपमा काम गरेका उनले १९८७ देखि १९९७ सम्म ‘खुदगर्ज’, ‘किंग अंकल’, ‘करण अर्जुन’ र ‘कोयला’ जस्ता फिल्ममा सहायक निर्देशकका रूपमा अनुभव बटुले ।
सन् २००० मा पिता राकेश रोशन निर्देशित फिल्म ‘कहो ना प्यार है’ बाट उनले अभिनेताका रूपमा बलिउड डेब्यु गरे । सोही वर्ष उनका अन्य फिल्म ‘फिजा’ र ‘मिशन कश्मीर’ पनि रिलिज भए । ‘कहो ना प्यार है’ ले उनलाई रातारात स्टार बनायो भने ‘कभी खुशी कभी गम’ ले उनको करियरलाई थप उचाइमा पुर्यायो ।सन् २००३ मा रिलिज भएको ‘कोई मिल गया’ ले ऋतिकलाई सुपरस्टारको हैसियत दिलायो । त्यसपछि सन् २००६ मा यसको सिक्वेल ‘क्रिस’ मार्फत उनी भारतकै पहिलो सुपरहिरो बने । यही फिल्मले उनलाई ‘क्रिस’ उपनाम दिलायो र बालबालिकादेखि युवासम्म उनीप्रति आकर्षण बढायो।
सन् २००६ ऋतिकका लागि विशेष रह्यो। सोही वर्ष उनका दुई फिल्म ‘क्रिस’ र ‘धूम २’ रिलिज भए । ‘धूम २’ मा सुपर चोरको भूमिकामा देखिएका ऋतिकले सकारात्मक र नकारात्मक दुवै भूमिकामा आफ्नो अभिनय क्षमता प्रमाणित गरे । यद्यपि सन् २०१० मा आएको ‘गुजारिश’ बक्स अफिसमा सफल हुन सकेन, तर प्यारालाइसिस भएका जादुगरको भूमिकामा ऋतिकको अभिनयको प्रशंसा भयो । त्यसपछि सन् २०११ मा ‘जिन्दगी ना मिलेगी दोबारा’ मार्फत उनले फरक शैली प्रस्तुत गरे, जसले युवा दर्शकलाई विशेष रूपमा आकर्षित गर्यो ।
सन् २०१२ मा रिलिज भएको ‘अग्निपथ’ ले उनको स्टारडम अझ मजबुत बनायो । त्यसपछि ‘क्रिस ३’, ‘ब्याङ ब्याङ’, ‘मोहन जोदारो’, ‘काबिल’, ‘सुपर ३०’ र ‘वार’ जस्ता फिल्ममार्फत उनले आफूलाई बहुआयामिक अभिनेता रूपमा स्थापित गरे । ‘सुपर ३०’ मा गणित शिक्षकको भूमिकामा देखिएका ऋतिकले अभिनयका लागि अवार्डसमेत जिते । आज ऋतिक रोशन बलिउडका महँगा र भरोसायोग्य अभिनेता मध्ये एक हुन् । विषयप्रधान फिल्मदेखि एक्सन ड्रामासम्म सहजै आफूलाई ढाल्न सक्ने क्षमताका कारण उनी अहिले पनि दर्शकका प्रिय अभिनेता बनेका छन् ।










