कहिले हेर्न पाइन्छ विजयको अन्तिम फिल्म ‘जना नायकन’ ?

फिल्म । तमिल अभिनेता थलापथी विजय अभिनीत फिल्म ‘जना नायकन’ को रिलिज मिति अझैँ टुङ्गो लाग्न सकेको छैन । केन्द्रीय फिल्म प्रमाणीकरण बोर्ड (सीबीएफसी)सँग जारी प्रमाणिकरण प्रक्रियाका कारण ढिलाइ हुँदै आएको यस फिल्मको प्रदर्शन मिति वितरकले औपचारिक रूपमा घोषणा नभएको हो।सीबीएफसीले फिल्मको विषयवस्तु र सिफारिसमाथि कडाइका साथ परीक्षण गरिरहेकाले लामो समयदेखि प्रमाणपत्र प्रक्रियामा अवरोध आएका कर्ण पूर्व निर्धारित प्रदर्शन स्थगित भयो ।

यसैबीच मद्रास उच्च अदालतले सीबीएफसीको परीक्षण समितिको कार्यप्रणालीमाथि प्रश्न उठाउँदै प्रमाणिकरण सिफारिसको विश्वसनीयतामाथि चासो व्यक्त गरेको छ । कानुन व्यवसायीहरूले अदालतको टिप्पणीलाई गम्भीर रूपमा लिँदै प्रमाणिकरण प्रक्रियामा थप पारदर्शिता र जवाफदेहिताको आवश्यकता औँल्याएका छन् । द हिन्दु पत्रिकाका अनुसार तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले पनि सेन्सर बोर्डलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

यस्ता चुनौतीबीच वितरकले फिल्म प्रदर्शनको तयारी तीव्र रूपमा अघि बढिरहेको भन्दै दर्शकलाई आश्वस्त पारेका छन् । ‘जना नायकन’प्रति दर्शकको उत्सुकता अझै बढिरहेको छ र प्रदर्शनपछि यसले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । यद्यपि यसको प्रदर्शन जनवरी २१ भन्दा अगाडि नहुने तय भएको छ । फिल्मको प्रमाणीकरण सम्बन्धी मुद्दा अदालतमा रहेको र त्यसको सुनुवाई आगामी जनवरी २१ मा हुने बताइएको छ ।

लोकप्रियताका हिसाबले दक्षिण भारतीय फिल्म उद्योगका अग्रणी अभिनेता विजयको यस फिल्मलाई यस सिजनको सबैभन्दा प्रतीक्षित रिलिजमध्ये एकका रूपमा हेरिएको छ । ठूलो दर्शक तान्ने क्षमता भएका विजयको उपस्थितिले फिल्मलाई व्यापक दर्शकसमक्ष पुर्‍याउने विश्वास गरिएको छ ।

‘जना नायकन’ ले भोग्नुपरेका यी अवरोधहरूले भारतमा कलात्मक स्वतन्त्रता र सेन्सरशिपसम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ । नियामक निकायको पालना र दर्शकको अपेक्षा सन्तुलनमा राख्दै फिल्म रिलिज गर्नु निर्माताका लागि चुनौती बन्दै गएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्