टिभी । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । कोरोना भाइरसको फैलिदो संक्रमणलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वकका अधिकांस देश अहिले लगभग बन्द छन् । केहि काम घरबाटै गरिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी बाहेक लगभग अन्य घरमै छन् । यसैसँगै मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ । चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ ।
पछिल्लो समय मनोरंजनको माध्यम नै डिजिटल प्लेटफर्म बनेको छ । यसैलाई मध्यनजर गर्दै लकडाउनको समयलाई रमाइलो र आशावादी बनाउने उद्धेश्यका एस आर बी एन मिडियाले ‘रन्डेभु विथ सम्पदा’ नामक कार्यक्रम सुरु गरेको छ । लेखिका तथा फिल्मकर्मी सम्पदा मल्लले सन्चालन गर्ने यस कार्यक्रममा देशका विभिन्न क्षेत्रका दिग्गज र चर्चित व्यक्तित्वहरुसँग लकडाउनले उनीहरुको जीवनशैलीमा पारेको प्रभावको विषयमा भलाकुसारी गरिनेछ ।
‘अहिले लकडाउनको समयमा हामीलाई मनपर्नै सेलिब्रेटीहरुले कसरी समय काटिरहेका होलान् भन्ने कौतुहुलता सबैमा छ । यही आइडियाले यो कार्यक्रम जन्मायो ।‘ एस आर बी एन मीडियाका क्रियेटिभ डिरेक्टर सुरक्षा अधिकारी भन्छिन् । यस कार्यक्रममा पाहुनाको रुपमा दीपकराज गिरी, दीपाश्री निरौला, अनिल केशरी शाह, माल्भिका सुब्बा, गौरी मल्ल, गौरिका सिंह, आसिफ शाह, सुरज सिङ ठकुरी, सत्य स्वरुप, अनुप बराल, दीया मास्के, विपिन कार्की आदि हुनेछन् ।
‘लकडाउनको समयमा सबैले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट अन्र्तवार्ता दिइरहनुभएको छ । यो आफैमा एउटा नयाँ प्रयोग हो र डिजिटल क्रान्तिको थालनी पनि हो । लकडाउन सकिएपछि पनि आजको व्यस्त समयमा यस्तो नयाँ प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पनि हो ’ एस आर बी एन मिडियाका आइटी हेड रिवाज घिमिरेले भने ।
सम्पदाले भने कार्यक्रमले घरको मोनोटोनस दैनिकी तोड्न मात्र होइन नयाँ उत्साह सञ्चार गर्नमा पनि सघाउने आशा व्यक्त गरिन् । ‘यो लकडाउनले धेरै मानिसमा नकारात्मक भावना पैदा भइरहेको छ । यो कार्यक्रमले सबैलाई हाँसो, उत्साह र प्रेरणा दिन सके यो कार्यक्रम सफल भएको ठान्नेछु ’ कार्यक्रमको सन्चालिका र कार्यकारी निर्माता सम्पदा मल्लले भनिन् । यो कार्यक्रम एस आर बी एन मिडियाको गुन्द्रुक युट्युब च्यानलमा हरेक दिन प्रसारण हुनेछ ।












