ट्रेन्डिङको पहिलो नम्बरमा ‘महाजात्रा’ ट्रेलर

फिल्म । चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि तयार भएको तेस्रो भाग ‘महाजात्रा’ को ट्रेलर अहिले नेपालमा युट्युबमा ९ लाख ८४ हजार बढी भ्युज, २० हजार लाइक र ५ सय बढी सकारात्मक कमेन्टसहित ट्रेन्डिङको पहिलो नम्बरमा छ ।

नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ नपाईरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ मार्फत सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित गरेका भट्टराईले यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई देखाएका छन् । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले दिईरहेको सकारात्मक प्रतिक्रियाले यस प्रति अपेक्षा बढेको अनुमान सहजै लगाउन सकिन्छ । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् । शृङ्खालाकै निरन्तरता भएकाले दर्शकको अपेक्षा बढ्नेमा उनी जानकार निर्देशक भट्टराईले टिजर सार्वजनिक गर्दै फिल्मको विषयलाई प्रस्ट्याएका छन् ।

अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले विदेशमा नेपालसँगै चैत ९ गते एकसाथ प्रदर्शन हुने बताए ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

कमेन्ट गर्नुहोस्