‘आदिपुरुष’ पटकथाकारको चर्को विरोध

फिल्म । भारतीय फिल्म ‘आदिपुरुष’ लाई नेपाल प्रदर्शनमा रोक लगाउने पर्ने आवाज सोसल मिडियामा उठिरहेको छ । फिल्मका पटकथा लेखक तथा गीतकार मनोज मुंतशिर शुक्लाले नेपालको राष्ट्रियता र सीताको जन्मको विषयमा भारतीय टेलिभिजन आजतकलाई विवादित बयान दिएपछि नेपालमा त्यसको विरोध भईरहेको छ । उनले अन्तवार्ताको क्रममा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकी छोरी रहेको प्रतिक्रिया दिएका हुन् ।

निर्देशक केपी पाठकले उक्त भनाई प्रति असहमति रहेको प्रतिक्रिया दिदै भर्त्सना गरे । ‘ती स्क्रिनप्ले लेखकले दिएको अभिव्यक्ति सरासर गलत छ । त्यसलाई सुधार्नु पर्छ’, निर्देशक पाठकले भने ।

नेपाल चलचित्र निर्माता संघको अध्यक्ष नवल खड्काले उक्त भनाईको विरुद्ध ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउनु पर्ने बताए । ‘अखण्ड भारतको नक्सा र अहिले यो सीताको जन्म सम्बन्धी झुटो प्रचार । केही समयदेखि राष्ट्रियतामा बारम्बार आक्रमण भईरहेको छ । अब हाम्रो आवाज अझैँ बलियो बनाउनु पर्छ’, अध्यक्ष खड्काले भने ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले ती लेखकको विचार र बौद्धिकता शून्य रहेको प्रतिक्रिया दिए । ‘भारतमै आदिपुरुषको विरोध भईरहेको छ । कारण ती पटकथा लेख्ने मनोज रहेछन् । रामायणलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप उनीसहित निर्माण टिमलाई छ’, अध्यक्ष पराजुलीले भने,’म फिल्म रोक्ने पक्षमा छैन तर अन्य विरोधमार्फत सचेत भएनन् भने रोक्नु पर्छ ।’

यस्तै, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मूल संस्करणमै माता सीता सम्बन्धी बोलिएको संवाद नसच्याए सोमबारदेखि महानगर भित्रका चलचित्र भवनमा सम्पूर्ण हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाउने घोषणा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्