
फिल्म । साउन १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’ मार्फत अभिनेताको रुपमा अमरप्रताप श्रेष्ठ उदाउदैछन् । फिल्मको सार्वजनिक पोस्टर, गीतमार्फत प्रसंशा बटुलेका अभिनेता श्रेष्ठले सार्वजनिक ट्रेलरमार्फत पनि चर्चा पाए । काठमाडौँमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आफू दिग्गज र अनुभवी कलाकारसँग उभिन पाउनु नै सफलताको मानक रहेको बताए ।
‘मैले बाल्यकालदेखि देख्दै आएका र आफूलाई प्रमाणित गरिसकेका कलाकारसँग सहकार्य गर्न पाउनु मेरा निमित सफलता हो । मलाई अवसर दिनुहुने र अभिनयमा सहजताका लागि साथ दिनुहुने सम्पूर्ण प्रति कृतज्ञ छु । मैले पाएको साथ र फिल्मको क्रममा बटुलेको अनुभव सुन्दर छन् । आउँदो समयमा तिनलाई प्रयोग गर्ने छु’, उनले भने ।
अभिनेता श्रेष्ठले निर्माता, निर्देशक, प्राविधिक, को-स्टार र सहकर्मी कलाकारलाई धन्यवाद दिए । उनले आफूले प्राप्त गरेको अवसरलाई सदुपयोग गर्न कुनै कसर बाँकी नराखेको बताए । उनको अभिनयको प्रसंशा को-स्टार वर्षा सिवाकोटीले पनि गरिन् । उनले भनिन्,‘अमरले पात्रलाई जीवन्त बनाउन निकै मेहनत गरेका छन् । उनले अनुभवी झैँ काम गरेका छन् । यो फिल्ममा म स्क्रीप्टकै कारणले जोडिएकी हुँ । यसको सशक्त पक्ष नै कथावस्तु हो ।’
एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ । ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन् । यसमा अभिनेत्री सिवाकोटी र नव अभिनेता श्रेष्ठबिच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। यसलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। यसका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।

फिल्ममा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।
