फिल्म । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल अब ६ दिन बाँकी छ । उनी ९ साउनबाट बोर्ड अध्यक्षको पदमुक्त हुँदैछन् । यद्यपि उनी अवार्ड कार्यक्रममा सहभागी हुन् विदेश जाने भएकाले संवत उनी अब बोर्ड अध्यक्षका रुपमा फर्किने छैनन् । नेपाली फिल्म निर्माण र अभिनयमा अनुभवी र सफल मानिएका केसी प्रसाशनिक काममा भने असफल भए । उनी अध्यक्ष रहदा उत्कृष्ट फिल्म घोषणा गर्न नसक्नु उनको फेलियर हो ।
उनले गरेका अधिकाँस निर्णय विवादमा पर्नुका साथै उनले आफ्नो कार्यकाल बोर्डकै इतिहासमा विर्सनलायक बनाएका छन् । जाँदाजाँदै अन्तिम समयमा पनि उनको विदाई विवादबाटै हुँदैछ । उनले पछिल्लो समय बोर्डका लागि अहिले ३५ जना विज्ञ छानेका छन् । यो यो विज्ञले चलचित्र विकाश बोर्डमा जुरी बस्ने र राष्ट्रिय चलचित्र अवार्ड विजेता छान्ने, बोर्डबाट प्रदान गरिने सम्मान तथा पुस्कारको लागि व्यक्ति छान्ने, बोर्डबाट सहयोग गरिने विशेष चलचित्र छान्ने लगायतको काम यो जम्बो टिमले अब गर्ने भनिएको छ ।
विज्ञमा रहेका केही नाममा विवाद सुरू भइसकेको छ । सङ्घसंस्थाको अध्यक्ष भएकै भरमा विज्ञ बनाइएको र बोर्डले मानेको भन्दै विवाद सुरू भएको हो । विज्ञको टोली लामो भएको र यसमा भएका केही नाम बोर्ड अध्यक्ष केसीले खुसी पार्नकै लागि राखेको भन्दै विरोध सुरु भएको हो ।
असोजको १ गते ‘चलचित्र दिवस’को अवसर पारेर बोर्डले यो पुरस्कारको आयोजना गर्ने तयारी गरेको हो । निर्देशक एवं समालोचक प्रकाश सायमीले आफ्नो नाम विज्ञमा राखेकोमा आपत्ति जनाएका छन् । आफूले कुनै राजनीतिक पार्टीको समर्थक एवं कार्यकर्ता चयन गर्ने बोर्डको कुनै पदमा आजीवन नबस्ने निर्णय गरेको बताउँदै आफ्नो अनुमति विना विज्ञमा नाम राखेकोमा आपत्ति जनाएका छन् ।
उनले फेसबुकमार्फत भनेका छन्, ‘केही समयदेखि राजनीतिक पार्टीले आफ्ना समर्थक वा कार्यकर्ता चयन गर्दै आएको चलचित्र विकास बोर्डमा कुनै पदमा रहन चाहन्नँ भन्दै आएको दशकौँ भैसक्यो । यस अवस्थामा मेरो अनुमति विना चलचित्र विकास बोर्डले चलचित्रविज्ञ सदस्यको रुपमा नियुक्त गरेकोमा मेरो घोर आपत्ति छ । समाचारमा यो खबर देखेर स्तब्ध भएको छु ।’
नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले बोर्ड अध्यक्ष केसीको प्राय यस्तै अनौठा र विवादास्पद काम भइरहेको बताए । उनले भने,‘गत वर्ष पनि उहाँले बोर्डबाट प्रदान गरेको अवार्ड, सम्मान र पुरस्कार निकै विवादित भएर अदालतसम्म पुगेका कारण विवादवाट जोगिन यस्तो टोली घोषणा गरेको होला । उहाँको निर्णयले नेपाली फिल्मलाई हित गर्नुको सट्टा आपसी उपलब्धीलाई बढी केन्द्रीत गरेको पाइन्छ । सायद बोर्डको नजरमा प्रदर्शक वितरकहरु विज्ञ हैनन् ।’
बोर्ड अध्यक्ष केसी यसअगाडी फिल्म क्षेत्रको नमाङ्कन, बोर्ड अन्तर्गतको उपसमिति गठन लगायतका विवादमा परिसकेका छन् ।











