
फिल्म । नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा देखिन्छ । स्थानीयरुपमा बोलिने मैथिली भाषामा भने निकै कम चलचित्र निर्माण भएका छन् ।
मैथिली भाषामा बन्ने चलचित्र, लघुचलचित्रको सङ्ख्यामा कमि देखेर नै निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न जनकपुरमा दुईदिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरियो । पहिलोपटक गरिएको महोत्सव गत असार ११ र १२ गते सञ्चालन गरिएको थियो । चलचित्र प्रदर्शनसँगै आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रमले दर्शकसँगै ‘मेकर्स’ मा पनि चासो बढाएको उक्त महोत्सवका निर्देशक रमेश रञ्जन झाले जानकारी दिए ।‘महोत्सवको उद्देश्य मूलतः मैथिली भाषामा बनिरहेका चलचित्रलाई हेर्नु र स्थानीयले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयमा बुझ्नु थियो । यहाँ गरिएको अन्तरक्रियाले मैथिली भाषामा चलचित्र बनाउनु पर्छ भन्ने प्रेरणा दिएको छ’, निर्देशक झाले भने । उनले मैथिली भाषीको सङ्ख्या ठूलो रहे तापनि चलचित्रको विकास नहुनुका दुःखद रहेको बताए ।
उनले भने,‘हामी कहाँ भएका प्राविधिकले नेपाली चलचित्रसँगै भारतीय चलचित्रमा समेत काम गरेका छन्, महोत्सवले उहाँहरू सबैलाई जोडेको छ । आउँदो समयमा यस भाषामा चलचित्र बन्छ भन्नेमा पूर्ण आशावादी हुन् सकिन्छ ।’ नेपाली र भोजपुरी जस्तो पूर्ण तयारी भएर मैथिली चलचित्र नबनेको सन्दर्भमा महोत्सवमा प्रदर्शन गरिएको चलचित्रमा नयाँपुस्ताले नवीतम सोच र कथा ल्याएको निर्देशक पुर्णेन्दु के झाले बताए ।

‘यहाँ आट गरेर चलचित्र बनाउने लगानीकर्ताको अभाव देखिएको छ, बनाउनेले भिडियो चलचित्रकको रुपमा केही तयार गरेका छन् । भाषा र साहित्यसँगै समुदायप्रति दायित्व बोध गर्नेलाई महोत्सवले लगानी गर्न प्रेरित गर्न सफल भएको छ । अब वीरगञ्जदेखि जनकपुर हुँदै तराईको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन् । विभिन्न भाषाभाषीको चलचित्रमार्फत नेपालभर छरिएको बजारलाई एकत्रित गर्न सकिन्छ । किनकी तराईमा नेपाली चलचित्रको बजार पनि राम्रो छैन’, निर्देशक झाले भने ।
मैथिली भाषामा ‘फिचर’ चलचित्र नेपालमा नबनेको धेरै भईसकेको छ । पछिल्लो समय डिजिटल प्लेटफर्ममा उपलब्ध ‘ज्याक्सन हल्ट’,‘गामक घर’ जस्ता उपलब्ध भएका चलचित्र विदेशी कम्पनिले निर्माण गरेका हुन् । ‘ललका पाग’,‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ जस्ता मैथिली भाषामा बनेको चलचित्र नै अहिले पनि तराईमा स्मरण गरिन्छ ।

पछिल्लो समय मैथिली भाषाका चलचित्र नवीतम सोच अनुसार तयार भइरहेको भारतीय निर्देशक नीरजकुमार मिश्राले बताए । भारतमा काम गरिरहेका निर्देशक मिश्राले नयाँपन दिन मैथिली भाषामा ‘समानान्तर’ निर्माण तथा निर्देशन गरेको बताए । ‘अहिलेको पुस्तालाई आकर्षण गर्न हामीले अन्य भाषाका झैँ चलचित्र तयार गर्नुको विकल्प छैन । त्यहि कारण मैले थ्रीलर विधामा चलचित्र तयार गरे । अब हामीले प्रविधिसँगै विषयवस्तुमा पन्नी उत्तिकै ध्यान दिनु पर्छ’, निर्देशक मिश्राले भने ।
उनको उक्त चलचित्रले सन् २०२३ मा भारतमा ‘राष्ट्रिय चलचित्र’ को पुरस्कार प्राप्त गरेको थियो । नेपाल र भारतमा मैथिली भाषामा काम गरिरहेका चलचित्रकर्मीलाई पहिलोपटक जनकपुरमा आयोजना गरिएको महोत्सवले जोड्न सफल भएको निर्देशक झाको विश्लेषण छ ।
उनले आगामी समयमा संयुक्त रुपमा चलचित्र निर्माण गर्नुका साथै मैथिली भाषामा रहेर विभिन्न काम गर्न ‘नेटवर्क’ बनेको जानकारी दिए । निर्देशक झा स्वयम् छिटै ‘लेवर’ नामाक चलचित्र मैथिली भाषामा तयार गर्दैछन् ।
