वैशाख २१ मा ‘इएनआई डी सिने अवार्ड’

फिल्म । अघिल्लो वर्ष झैँ यसपटक पनि आयोजना हुने डी सिने अवार्डको लागि फिल्म कार्य थालिएको छ । विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको यसअवार्डको एघारौ संस्करणको लागि फिल्म हेर्ने कार्य भइरहेको छ । यस संस्करणको लागि इएनआई डी सिने अवार्ड –०७५ नामांकन गरिएको अवार्ड ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजना हुन् लागेको जनाईएको छ ।

विक्रम संवत २०६६ सालबाट प्रारम्भ भएको यो अवार्ड मूख्यतया डिजिटल फर्म्याटलाई आधार मानेर तत्कालिन अवस्थामा प्रारम्भ गरिए पनि समयको परिवर्तन सँगसँगै फिल्महरु पूर्णत डिजिटल हुन पुगेपछी स्वतः डीजिटल प्रविधिमा निर्मित फिल्महरुले सहभागीता जनाउने गरेका छन् । पूँजीले मात्र होइन प्रविधिबाट पनि फिल्मको गुणस्तर विकाश गर्न सकिन्छ भन्ने मान्यतालाई प्रोत्साहन गर्नुका साथै प्राविधिक एवं कलाकारलाई हौसला प्रदान गर्नका निमित्त डी सिने अवार्ड गरिने गरेको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।

विगतका वर्षहरुमा उपत्यका बाहिर समेत गर्ने गरिएको एक मात्र यो अवार्ड यसपटक पुनः काठमाडौं मै गरिने पनि प्रियले बताए । यसपटक निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपाल कै पहिलो महिला छायाँकार सवनम मुखिया रहेका छन् । अवार्ड कार्यक्रम यसपटक आगामी बैशाख २१ गते काठमाडौंमै आयोजना गरिने आयोजक संस्था छायाँछविले जनाएको छ ।

अवार्डको मुख्य प्रायोजक एस टी सी ग्रुप अन्तरर्गतको इएनआई लुब्रिकेन्टस् रहेको छ । यसअघि डी सिने अवार्ड पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय नाँचघर जमलमा, चौथो, पाँचौं र छैठौं नेपाल प्रज्ञा प्रतिष्ठानमा, सातौं कार्की वैंकट बवरमहलमा, आठौं ग्राण्ड होटल पोखरामा, नवौं ओम सिनेमा हेटौंडामा, दशौं राष्ट्रिय सभागृह काठमाडौंमा सम्पन्न भइ सकेको छ भने ११ औं पनि काठमाडौंमा भइरहेको हो ।

कमेन्ट गर्नुहोस्