फिल्म । अभिनेता जीतु नेपालको पात्रलाई फिल्म ‘कार्साङ’ युनिटले सार्वजनिक गरेको छ । मङ्गलवार सार्वजनिक गरिएको फस्ट लुक्समा अघिल्ला फिल्म भन्दा भिन्न देखिएका छन् । कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जीतुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ ।
पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही प्रष्ट पारेको छैन ।
यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले प्रचार सुरु गरेको छ । यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘कार्साङ’ पुस २६ गते प्रदर्शन हुँदैछ ।
शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । यसको सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।