‘पर्खी बसें तिमीलाई’ हेर्दा भावुक भए दर्शक

फिल्म । माघेसंक्रान्ति लक्षित गर्दै गत पुस २७ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पर्खी बसें तिमीलाई’ हेरेर निस्किएका दर्शक भावुक बनेका छन् । उनीहरुले फिल्मको प्रेम कथा, प्रस्तुतीकरण र त्रिकोणात्मक प्रेमको प्रसंशा गरेका छन् । अन्तिम समयसम्म कथा के होला ? भन्ने जिज्ञाशा रहेको उनीहरूले बताए । निर्माण टिम दर्शक प्रतिक्रिया लिन चाबहिल चुच्चेपाटीस्थित एफक्युब सिनेमाजमा पुगेको थियो ।

निर्माता राजाराम बुढाथोकी, निर्देशक दीपक श्रेष्ठ, नव कलाकारद्वय किरण श्रेष्ठ र रक्षा बुढाथोकी, वितरक करण श्रेष्ठसहितको टिमलाई दर्शकले सुन्दर प्रेम कथा हेर्न पाएको भन्दै धन्यवाद दिए । फिल्म हेरेर निस्किदै गर्दा अधिकाँस दर्शकका आँखा रसाएका थिए । उनीहरूले फिल्मको विषयवस्तुसँगै प्रस्तुतीकरणको तारिफ गरेका थिए । धेरैपछि विशुद्ध प्रेम कथानक फिल्म हेर्न पाएको भन्दै उनीहरूले तारिफ समेत गरे ।

निर्देशक श्रेष्ठले हल प्रतिक्रिया शत प्रतिशत सकारात्मक रहेको बताए । ‘फिल्म हेर्ने भावुक हुनुभएको छ । मैले देखाएको कथा पर्दाबाट दर्शकसम्म पुगेकोमा खुसी छु’, निर्देशक श्रेष्ठले भने,‘यो सम्पूर्ण परिवार बसेर हेर्न मिल्ने प्रेमकथानक पारिवारिक फिल्म हो । दर्शकले नै दर्शक अब हलसम्म ल्याउनु हुनेछ ।’

अभिनेता श्रेष्ठले मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राले बल्ल सार्थकता पाएको बताए । ‘मैले पाईरहेको प्रतिक्रियाले उत्साह थपेको छ । म कलाकार बन्ने सपना बोकेर आएको थिएँ । म कलात्मक र व्यावसायिक दुवै मेकर्सको रोजाईमा पर्ने फिल्म गर्न चाहन्थे । यसको सुरुआत राम्रो भएको छ’, अभिनेता श्रेष्ठले भने ।

अभिनेत्री बुढाथोकीले प्रत्यक्षसँगै सोसल मिडियामार्फत पाइरहेको प्रतिक्रियाले आगामी यात्रा तय गर्न सहज हुने बताइन । ‘मलाई लभर गर्लको भूमिकामा राम्रो गरेउ भन्ने प्रतिक्रिया प्राप्त भएको छ । यो फिल्म गर्दा मैले सिकेका कुराहरूले आउँदो समयमा मलाई निकै सहयोग गर्नेछ । आफ्नो फिल्म हेर्दा केही स्थानमा आफैँ पनि भावनात्मक भएँ’,अभिनेत्री बुढाथोकीले भनिन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्