फिल्म । निशा घिमिरे स्मृति कोषको २०७९ श्रावण १४ गते बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री, मोडल तथा कोरियोग्राफर श्री पवित्रा आचार्य र मोडल श्री उषा उप्रेतीलाई (जनही २५ हजार रकम र सम्मानपत्र) समर्पण गर्ने निर्णय गरेको छ । कोषका संयोजक श्री दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालका श्री मेघा चौधरी, संचारकर्मी श्री प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय गरेको छ ।
केही वर्ष अगाडी भारतमा सडक दुर्घटनामा पर्नु भएकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा नि:शुल्क उपचार भएको थियो । ५÷६ महिनाको उपचारपछि उपचाररत अवस्थामा नै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा घिमिरे उपचाररत अवस्थामा नै देश विदेशमा रहनु भएका शुभेच्छुक सहृदयी दाताहरुले निशाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाउनु भएको थियो । गत वर्ष स्व. निशा घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो ।
शुभेच्छुक दाता र रजतपटका संचालक संचारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवांगत हुनु भएपछि अक्षय कोषमा राखि प्रत्यक वर्ष दुई जना मोडल अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भए वमोजिम यस वर्षको पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो । हाल निशा घिमिरे स्मृति कोषमा श्री दुर्गानाथ दाहाल, मोहन निरौला र स्व. निशा घिमिरेकी दिदी श्री उषा घिमिरे हुनुहुन्छ । उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि समर्पण गर्ने निर्णय भएको छ ।