‘जुनाः एक व्यथा हेरेपछि न रसाउने आँखा हुदैनन्’ : निर्देशक सेञ्चुरी

फिल्म । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ हेर्दा जो कोहीको पनि आँखा रसाउने निर्देशक जीवन सेञ्चुरीले बताएकाछन् । फिल्मको प्रचारप्रसारको क्रममा निर्देशक सेञ्चुरीले फिल्मको आयोजित विशेष शोमा धेरै आँखा रसाएको सन्दर्भ सुनाए । उनले भने,‘यो सबैले हेर्नुपर्ने एउटा फिल्म बनेको छ । सार्वजनिक प्रदर्शन अगाडि हामीले गरेको विभिन्न च्यारिटी शोमा अभिभावक र बच्चा दुवैलाई देखाएका थियौँ । त्यहाँ रसाएका आँखा थिएनन् । हाम्रो उदेश्य परिवार र समाजलाई नै बालविवाह विरुद्ध सचेत गराउनु हो ।’

उनले विश्वभर व्याप्त रहेको बालविवाहको समस्या विरुद्धको चेतना बढाउन फिल्म निर्माण उपयोगी लागेको बताए । आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो । फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । निर्देशक सेञ्चुरीले फिल्मले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए ।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्