‘ह्रस्व दीर्घ’को छायांकन काठमाडौँमा

फिल्म । चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भईरहेको छ । निर्देशक पन्तका अनुसार काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने छ ।

‘यो अन्तिम सेड्युल हो । ४ दिनमा फिल्मको सम्पुर्ण छायांकन सकिनेछ । त्यसपछि हामी पुर्ण रुपमा प्रचारप्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं’, निर्देशक पन्तले भने । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको फिल्मको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले भारतीय फिल्म ‘गजनी’ भिलेन प्रदीप रावत र फिल्म ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् ।

अभिनेता रावतले आफुले फिल्ममा अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी फिल्म ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली फिल्मको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए ।

यस्तै, अभिनेता वर्माले पनि नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । स्कृप्ट अनुसार फिल्म उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै उनले नेपाली फिल्मलाई भारतीय उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिन्दीसहित तीन भाषामा यो फिल्म आगामी असोज ३ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्