
फिल्म । गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित रहेर तयार हुने फिल्म ‘बलिदान’ को छायाङ्कन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा विविध कार्य भइरहेको निर्देशक सन्तोष सेनले बताएका छन् ।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’का लागि दक्षिण भारतका द्वन्द्व निर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याएको छ। जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाँकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले ‘बलिदान’मा काम गर्नेछन् ।
द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको फिल्म ‘हात्ती मेरे साथी’, चियान विक्रमको ‘थङ्गलम’ लगायतमा काम गरिसकेका छन् । छायाँकार ऋषि गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘बाटो: रोड टु डेथ’का छायाँकार हुन् । हाल नेपालमा उनको छायाङ्कनको खुलेरै तारिफ भइरहेको छ । त्यस्तै, उनले दक्षिण भारतमा सुपरस्टार रजीनिकान्थको ‘पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको ‘आचार्य’को छायाङ्कन टिममा रहेर काम गरेका छन् ।
यसका साथै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए । उनले भने,‘हामीले बलिदानलाई उच्चस्तरीय नेपाली फिल्म बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ । यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ । यो एक सामान्य फिल्म नभएर नेपाली फिल्म उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् फिल्मको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ ।’

बलिदानको छायाङ्कनको लागि इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । साथै, विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको सह निर्माता प्रेम पुरीले बताए । यसको करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ ।
‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको अभिनय रहनेछ। आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।