सङ्गीत । नेपाली डान्स समूह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गर्न सफल भएका छन ।नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन ।
सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५ हजार ६ सय ४४.५ मिटर (१८,५१९ फिट) अग्लो छ । सुरेन्द्र र सुसनले ५ हजार ४ सय ४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाएका हुन । यति ठुलो हाइटमा नृत्य गरेर सुसन र सुरेन्द्रले इतिहासमा आफ्नो छाप छाड्ने महत्वाकांक्षी प्रयास गरेका हुन ।
सुसन र सुरेन्द्रले प्रस्तुती दिएको गीत,‘मन मगन’ साढे दुई मिनेट लामो छ । उनीहरुलाई फोटोग्राफीमा सौगात कार्की र भिडियोग्राफीमा सोनम केसी र उमेश सापकोटाले साथ दिएका थिए ।
उनीहरुको यो प्रयासलाई ‘गिनिज वर्ल्ड रेकर्ड’ले अनुमोदन गरेको छ । रेकर्ड राख्नका लागि प्रयास गरेको सबै प्रमाणहरूको समीक्षा गरेर सुरेन्द्र र सुसनलाई गिनिजले आधिकारिक रूपमै उच्चतम उचाइमा कोरियोग्राफी गर्ने जोडीको रेकर्ड थमाएको हो । ‘हामीले हाम्रा हिमाल र वातावरण संरक्षण, हिमाली जैविक विविधताका विषयमा जनचेतना फैलाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि यो कीर्तिमानी प्रयास गरेका हौँ’, उनीहरुले भने । यो जोडीले राखेको कीर्तिमानी रेकर्डको विशेष साक्षीका रुपमा सानू शेर्पा थिए ।











