
फिल्म । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवस-२०८१ को अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीकोअवलोकन गर्दै नेपाल घुमेको प्रतिक्रया दिएका छन् । आज रासस कार्यालयमा पुगेर तस्बिर अवलोकन गरेपछि अभिनेता उप्रेतीले नेपालमा के कस्ता विकास भइरहेको छ भन्ने कुरालाई तस्बिरले व्यक्त गरेको बताए ।
उनले भने,‘पछिल्लो समयमा विकास भएन भनेर विरोध मात्रै भइरहेको अवस्थामा यसबीचमा भएका प्रगति र विकासबारे सबैले जान्नुपर्ने जरुरी छ । यस्तो प्रदर्शनीमा आए नेपाल बुझ्न पाइन्छ । मुलुकमा विकास नै भएन भनेर निराश हुनुभन्दा भएको विकासबाट सन्तुष्टि लिँदै थप विकासका लागि पहल गर्नुपर्छ ।’
उनलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रधान सम्पादक उत्तम सिल्वाललगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएको थियो । जानकारी लिने क्रममा उप्रेतीले प्रत्यके तस्बिरसँग जोडिएको आफ्नो सन्दर्भ पनि जानकारी गराएका थिए । उनी फिल्म छायांकनको क्रममा नेपालको ७७ जिल्ला नै पुगेको बताएका थिए ।
गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित्त एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।
विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् ।
