‘मैले जातीय विभेदको विषयमा यो भन्दा बढी बोल्ने ठाउँ छैन्’ : निर्देशक राउत

फिल्म । नेपाली फिल्ममा ‘आइएम सरी’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक दिनेश राउतले प्रेम कथानकलाई प्रस्तुत गर्ने शैलीमार्फत सबैको ध्यान तान्न सफल भए । गीतसङ्गीतको छनौट र प्रेम कथानकको प्रस्तुतीकरणले चर्चामा आएका निर्देशक राउतले त्यसपछि ‘नोभेम्बर रेन’,‘क्लासिक’ जस्ता प्रेम कथामा आधारित फिल्म निर्देशन गरेपछि थ्रीलर फिल्म ‘पर्व’ मार्फत विधा परिवर्तन गरे । त्यसपछि ‘प्रसाद’ र ‘प्रकाश’ निर्देशन गरेर सामाजिक विषयलाई पर्दामा ल्याईरहेका छन् ।

निर्देशक राउत यसलाई आफ्नो सोचाई र बुझाईको ‘ग्रोथ’ भन्छन् । उनले फिल्मकर्मीले आफ्नो चासो र मन लागेको विषयमा फिल्म तयार गर्ने गरेको बताए । ‘म कुन खालका फिल्म रुचाउँछु भन्ने कुराले पनि निर्देशित गर्ने रहेछ । मलाई सुरुको चरणमा रोमान्टिक प्रेमकथाका फिल्म हेर्न मनपर्थ्यो । त्यसकारण मैले त्यस्तै विषयलाई दर्शकसम्म ल्याए । अहिले ती फिल्म आफैँलाई हेर्न रुचि छैन भने बनाउन कसरी रुचिकर हुनसक्छ ? त्यसैले मैले सामाजिक विषयलाई ल्याएको हुँ’, निर्देशक राउतले भने ।

निर्देशक राउतले ‘प्रसाद’, ‘प्रकाश’ जस्ता फिल्ममार्फत सामाजिक विषय उठान गरिसकेका छन् । ‘प्रसाद’ मा जातीय विभेद् र अन्तरजातीय विवाहको मुद्दालाई उठाएका निर्देशक राउतले ‘प्रकाश’ मा वर्गीय सङ्घर्षलाई प्रस्तुत गरे । यसपटक मिश्रित समाजमार्फत अघिल्ला दुवै मुद्दालाई उठाएको उनको भनाइ छ ।

‘मैले अघिल्ला फिल्ममा जातियत विभेद छ, छुवाछुत गर्नु हुन्न भन्ने जस्ता संदेश दिए । विभेदले समाजलाई विकसित नबनाई खण्डित गर्छ भन्ने मेरो आशय थियो । तर यसपटक मोले जात र थर हुँदैन, केवल मानिस हुन्छ । मानिसको जात नै पुरुष र महिला भन्ने भाष्य बोलेको छु’, निर्देशक राउतले भने ।

उनले आफ्नो तर्फबाट यो भन्दा बढी र माथि बोल्ने ठाउँ नै रहेको समेत बताए । उनले भने,‘हामीले यसपटक मानवतालाई देखाएका छौँ । यो भनेको जातियता र विभेद भन्दा निकै माथी छ । मैले भन्न सक्ने माध्यम फिल्ममार्फत भनेको छु ।’

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पूजार सार्की’ मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय पनि रहेको छ ।

विकास सुवेदीको लेखन रहेको फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेले साउण्ड डिजाइन, शैलेश श्रेष्ठले ब्याकराउण्ड स्कोर गरिरहेका छन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन रहेको ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्