लगातार दर्शकको माया पाइरहेको ‘जात्रा’ शृङ्खला

फिल्म । ‘जात्रा’ प्रदर्शन हुँदा सबै नयाँ थिए । कलाकारदेखि निर्देशकसम्मलाई दर्शकले नोटिस गरेका थिएनन् । अभिनेता विपिन कार्की भने ‘भष्मे डन’ को रुपमा चिनिदै थिए । फिल्मको प्रदर्शन तिहारमा भएका कारण दसैँमा सार्वजनिक गरिएको ट्रेलरले पनि दर्शकको ध्यान तान्न सकेको थिएन । यद्यपि फिल्म प्रदर्शन पश्चात दर्शकमार्फत ‘वर्ड अफ माउथ’ बलियो सुनिएपछि फिल्मले समीक्षात्मक सफलता मात्र नभई व्यावसायिक सफलतासमेत प्राप्त गर्यो । त्यसपछि निर्देशक प्रदीप भट्टराई र निर्माण कम्पनि षट्कोण आर्ट्सको निर्माणमा आउने फिल्ममा दर्शकको उपस्थिति बलियो देखियो ।

मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई बक्सअफिसमा अब्बल सावित गरे । समीक्षकले पनि उनको ‘जात्रा’ शृङ्खलालाई रुचाए । नेपालमा बन्ने गरेको सिक्वेलमा संवत ‘जात्रै जात्रा’ जत्तिको प्रसंशा कमै फिल्मले पाएका छन् । यसले अन्तर्राष्ट्रियबजार विस्तारसँगै बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

सोही कारण यसको भारतबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेका छ । ‘हामीले फिल्मको पछिल्लो शृङ्खलाले गरेको व्यापार र दर्शकले अन्य फिल्म हेर्न आउँदा देखाउनु भएको चासोको आधारमा खरिद गरेका हौँ । यसको लोकप्रियता र यसले गर्ने व्यापारकै कारण हामीले लगभग फिल्म विक्री पनि गरिसकेका छौँ । अर्थात् यो फिल्म एक÷दुई देश बाहेक बिक्री भईसकेको छ’, वितरक थापाले भने ।

लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । शृङ्खलाले दर्शकको विस्वास घट्न दिएका छैनन्, बढ्दो छ । नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ पाउँदैन किनकी त्यो अनुसारको बन्दैन । तर, निर्देशक भट्टराईकै लेखन रहेको फिल्मले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रस्ट्याए ।

‘मैले फिल्म दर्शकका लागि तयार गर्ने गरेको छु । बजारमा यो चलिरहेको छ भनेर काम गरिएको छैन । हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराईले भने,‘हामी राम्रो फिल्म बनाउन मेहनत गरिरहेका छौं । बाँकी तथ्यलाई ध्यान दिएका छैनौ ।’

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङ्खलासँग अभिनेताको रुपमा जोडिएका छन् । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

कमेन्ट गर्नुहोस्