शुक्रबार जापान जाँदै कलाकारहरुको जम्बो टोली

फिल्म । गत वर्ष ‘सुर्य इन्टरनेशनल अवार्ड २०१८’ को पहिलो शृंखला आयोजना गरेर सुरुवात गरेको सुर्य कर्पोरेशनले यसलाई निरन्तरता दिदै दोस्रो शृंखलाको तयारी गरिरहेको छ । आउँदो नोभेम्बर २३ देखि २६ सम्म जापानको टोकियोमा विभिन्न कार्यक्रम गरेर दोस्रो शृंखलाको अवार्ड सम्पन्न गर्ने तयारीमा सुर्य कर्पोरेशन र यसका अध्यक्ष बाशुदेव लामिछाने अन्तिम चरणको तयारी गरिरहेकाछन् । साकुरा नाईटसँगै विभिन्न कार्यक्रम गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताएका छन् ।

आउँदो नोभेम्बर २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्डको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताए । नाफा भन्दा पनि कला र संस्कृतीमा टेवा पुर्याउने उदेश्यले अवार्ड आयोजना गरिएको बताइएको छ ।‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ् यसको सुरुवात गरेको हुँ’ लामिछानेले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ७० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

अवार्डमा सहभागी हुन् निर्देशक ऋषि लामिछाने तथा कलाकार सरिता लामिछाने जापान पुगिसकेका छन् । यीसँगै विहिबार नै अभिनेता भुवन केसी , अनमोल केसी र जिया केसी पनि जापान पुग्दैछन् । हङकङ हुँदै जापानसम्मको यात्रामा भुवन , अनमोल र जिया मंगलवार नै नेपाल छाडेका थिए । यसैगरी कलाकार सहितको ठुलो टोलि शुक्रबार जापान प्रस्थान गर्दैछ । अवार्डमा सहभागिता जनाउने विषयमा विभिन्न कलाकारले भिडियो मार्फत पनि जनाउ दिईसकेका छन् । अवार्डमा नीर शाह , मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , भुवन केसी , केशव भट्टराई , अनमोल केसी , दीपाश्री निरौला, श्वेता खड्का , नम्रता श्रेष्ठ , साम्राज्ञी राज्यलक्ष्मी शाह , सन्दीप छेत्री , कमल खत्री , बर्षा राउत , विजय लामा , बुद्धि तामाङ , सरोज न्यौपाने , शुभाष थापा , रोहित अधिकारी , सुमन गिरी , दिपेन्द्र लामा , हेमन्त शर्मा , संजीव पराजुली , टिका प्रसाईं , महादेव त्रिपाठीसँगै लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई लगायतका फिल्मकर्मीहरुको उपस्थिति रहने छ । यो टोलि शुक्रबार नेपाल एअरलाइन्सको जहाजबाट जापान प्रस्थान गर्नेछ ।

विज्ञापन

यसैगरी अवार्डमा लोकप्रिय जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिने भएको छ । कलाकारितासँगै गीतसंगीत , सामाजिक क्षेत्रमा योगदान पुर्याएका बहुआयामिक व्यक्तित्वलाई प्रदान गरिने ‘सुर्य रत्न सम्मान’ मार्फत मह जोडीलाई सम्मान गर्न लागिएको हो । यो अवार्डमा यस सम्मान मार्फत पहिलो पटक महलाई सम्मान गर्न लागिएको हो । साथै , यो सम्मान हरेक वर्ष नहुने समेत आयोजकले प्रस्ट्याएको छ । यसैगरी चार दशक भन्दा लामो समय देखि यसक्षेत्रमा सक्रिय रहदै आएका फिल्मकर्मी तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘सुर्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । यसैगरी तिन दशक लामो कलाकारिता यात्रा तय गरेका क्याप्टेन समेत रहेका विजय लामालाई ‘सर्य कलाकारिता सम्मान’ मार्फत सम्मानित गर्ने भएको छ ।

उनले कलाकारितामा निरन्तर दिएको योगदान र राष्ट्रसेवामा समेत रहेको सक्रियताको कदर गर्दै सम्मान प्रदान गर्न लागिएको सुर्य कर्पोरेशनले बताएको छ । यसैगरी दुइ दशक लामो पत्रकारितामा सक्रिय रङ्ग पत्रकार साथै फिल्म निर्देशक समेत रहेका लक्ष्मण सुवेदीलाई ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।पत्रकार सुवेदीलाई नगदराशि २५ हजार (जापनिज) सहित पुरस्कृत गर्न लागिएको हो । सुर्य कर्पोरेशनका अध्यक्ष लामिछानेले अवार्डसँगै दिईने विशेष सम्मान तथा पुरस्कारले आफ्नो क्षेत्रमा निरन्तरता दिन झनै प्रेरित गर्ने उदेश्यले प्रदान गर्न लागिएको बताएका छन् ।

विज्ञापन

अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । साथै , क्रिटिक्स अवार्डमा निर्देशक , अभिनेता र अभिनेत्रीको विधा समेत रहेको छ । यसको नोमिनेशन नभई अवार्ड समारोहमै विजेता घोषणा गरिनेछ भने अन्य नोमिनेशनमा परेका पपुलर विधामा भोटको आधारमा विजेता घोषणा गरिनेछ । दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् । अवार्डको नोमिनेशमा परेका टप तीनलाई भोट गर्न सुर्य इन्टरनेशनल अवार्डस् (https://suryainternationalawards.com) क्लिक गरेर नोमिनेशनमा गएर गूगल वा फेसबुक मार्फत लगइन गरेर मत दिन सकिनेछ ।

कमेन्ट गर्नुहोस्