सौन्दर्य । अभिनेत्री प्रियंका कार्की, स्वस्तिामा खड्का, नीति शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, माल्भिका सुब्बा, सबिता कार्की, आस्था पोखरेल, सन्तोष लोक्शुम लिम्बु, समपर्णजंग कार्की, सृच्छा प्रधान, प्रियंका रानी जोशीलगायतका सेलिब्रेटी एउटै र्याम्पमा देखिने भएका छन् । आगामी चैत १५ र १६ गते (मार्च २८ र २९) होटल याक एण्ड यति दरबारमार्गमा आयोजना हुने १४औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उल्लेखित सेलिब्रेटी एकसाथ फेसन शोमा देखिने भएका हुन् ।
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको फेसन शोमा २ दर्जन सेलिब्रेटीसँगै ३१ जना व्यवसायिक मोडललेसमेत पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गर्नेछन् । शोमा आइसी कलेजका २०२२ ब्याजका एक सय २ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन २५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् । ‘आइइसी डिजाइनर रनवे अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा प्रस्तुत गर्न लागिएको हो’ उनले भनिन् ।
भारतबाट चर्चित तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहने शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ ।












